काठमाडौ । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिनुभयो ।

पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको उहाँले बताउनुभयो । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको धर्मगुरु मियाँले बताउनुभयो ।

मुस्लिम समुदायले देशभरी बकर इद मनाइरहेका छन् । मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ। इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोराले नमानेपछि आकासवाणी गरेर ईश्वरले छोराको सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली दिने चलन चलिआएको बताइन्छ।

खसी वा भेंडाको बलीको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ। बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ। नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली दिने गरिन्छ।

सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ। आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर–घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ। बकर इदका अवसरमा सरकारले १,२ र ५ प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबरहरु