देशको नक्सा सिमानामा राखियो।
मुटुलाई पनि निशानामा राखियो ।।

उसको यौवन धनदौलत भएपछि
नजर बन्द कारखानामा राखियो ।।

खुशीहरुलाई अब लिलाम गर्नुछ
तमसुक गरियो पानामा राखियो ।।

एकदिन एक मुसाफिरले सोध्यो
चिट्ठीपत्र कुन ठेगानामा राखियो ।।

प्रेमको परिभाषा पढाउछु भन्दै
दिवानाहरुलाई जब पाठशालामा राखियो ।।

सधैं यादहरु मेटाउने बहानामा
यो जिन्दगीलाई मधुशालामा राखियो ।।

प्रकाश अचेल यारहरु भन्छन्
प्रेमको प्रस्ताव जमानामा राखियो ।।

प्रकाश पौडेल / गुलरिया ०४ बर्दिया

सम्बन्धित खबरहरु