काठमाडौ । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक एआइजीको बढुवा प्रक्रिया अगाडि बढाइएको छ । बढुवा भएका एआईजीहरु नै भावी आइजीपी भएकाले यसलाई निक्कै महत्वका साथ हेरिन्छ । गृह मन्त्रालयले एक साताभित्र एआइजी बढुवाको टुंगो लगाउने गरी प्रक्रिया अघि बढाएको बुझिएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएसँगै एआइजीको बढुवा रोकिएको छ । चार महिनादेखि रोकिएको बढुवा प्रक्रिया बल्ल अगाडि बढाएपछि तल्लो तहमा पनि अवरोध हट्ने विश्वास लिइएको छ ।

को को छन् भिडन्तमा ?
सरकारको पछिल्लो निर्णय अनुसार एआइजीको दरबन्दी तीन वटामात्र कायम गरिएको छ । हालका डिआइजीमध्येबाट तीन जनाको मात्र बढुवा हुनेछ । गृह मन्त्रालय यसपटक विवादमा पर्न चाहन्न । त्यसैले एआइजी बढुवा वरिष्ठताकै आधारमा हुनेछ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, धीरु बस्नेत, ठुले राई, र सुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । सबै गत वर्ष साउन १९ गते डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

यसअघि पनि डीआइजीबाट सीधै आइजिपी बनाउनु परेको थियो । प्राविधिक तर्फमात्र नेपाल प्रहरी अस्पतालका प्रमुख डा दिनेशचन्द्र पोख्रेल एआइजी छन् । एआइजी नभएकैले डा पोख्रेल ०७३ को फागुनमा दुई महिनाका लागि आइजिपीकै कार्यबाहक सम्हाल्न पुगेका थिए । डिआइजीबाट सीधै आइजिपीमा बढुवा गर्दा ०७३ चैत २८ गते डीआइजी प्रकाश अर्याल बढुवा भएका थिए । त्यतिबेला डीआइजी नवराज सिलवालले अदालतमा निवेदन नै दिएका थिए । जयबहादुर चन्दलाई सरकारले आइजिपी नियुक्त गरे पनि त्यो सफल भएको थिएन र अन्ततः सिलवाल फर्जी काण्डमा मुछिएपछि अर्याललाई चिठ्ठा परेको थियो । सिलवालको काण्डको फैसला अझै भएको छैन । तर उनी सांसद भइसकेका छन् ।

सम्बन्धित खबरहरु