काठमाडौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा खोजीको माग तथा हत्याको विरोधमा आज पनि त्यही अवस्था अशान्त रहेको छ । प्रदर्शन जारी रहेका बेला बेला–बेला प्रर्दशनकारी र प्रहरीबीच घम्साघम्सी चलिनै रहेको छ । बिहीबार बिहानैदेखि त्यहाँ प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् ।

बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो । प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ । भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका, १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ । रोई कराई गर्ने कोही नभएको निमुखा व्यक्ति पक्रिएर उसैलाई दोषी देखाउँदै प्रहरीले घटना ढाकछोप गर्न खोजेको उनीहरुको आरोप छ । प्रदर्शन नरोकिएपछि प्रदेश ७ प्रहरीले अनुगमनका लागि एसएसपी बिक्रम चन्दलार्इ महेन्द्रनगर पठाएको छ । उनको टाक्सफोर्सले अहिले प्रर्दशनलाई न्युन पार्ने काम गरिरहेको छ ।

सम्बन्धित खबरहरु