काठमाडौ । बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो ।

गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताको प्रश्नमा व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो ।

तरकारी गाडी नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी शुरु गरेका हुन् । एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजार क्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु