काठमाडौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधामन्त्री मोदी आउनु अघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ । मोदी सहित बिमस्टेक राष्ट्रका राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रयोग गर्नको लागि भारतीय वायुसेनाको विमानबाट शनिबार दिउँसो ३ वटा गाडी सहित १३ जनाको टोली नेपाल आइपुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सो सुरक्षा टोलीले नेपालको सुरक्षाकर्मीहरुसँग समन्यव सुरु गरिसकेको छ ।

मोदीसँगै कति सदस्यीय सुरक्षाकर्मी आउँछन् भन्ने बारेमा भने अहिलेसम्म नेपाल सरकारलाई जानकारी दिइएको छैन । ‘सामान्य प्रक्रिया हो सुरक्षा समन्वयका लागि मात्रै आएका हुन् । सबै पाहुनाको सुरक्षा जिम्मेवारी आयोजक राष्ट्रकै भएकाले उनीहरूको भूमिका समन्वयकारी मात्रै हुनेछ,’ सुरक्षा स्रोतले भन्यो । बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको छ । भदौ १२ बाट सो सम्मेलनका लागि पाहुना आउने कार्यक्रम छ ।
नागरिकबाट

सम्बन्धित खबरहरु