काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार निर्माण भएको लामो समय भैसकेको छ । यो दुई तिहाइको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप बेलाबेलामा खेप्दैं आएको छ । यसै बिच प्रधानमन्त्री ओलीले आज संसदमा बोल्दै सरकारले काम गर्न नसकेको भन्दा पनि विपक्षीले काम गर्न नदिएको आरोप लगाउनु भएको छ । आज संसदमा बोल्दै उहाँले,“वर्तमान सरकार बनेपछि पनि अनावश्यक विषयमा संसद् अवरुद्ध गरियो, अनि कसरी समयमा कानून निर्माण हुन्छ” प्रधानमन्त्री ओलीले, “यो सरकारले हालसम्म ४९ विधेयक अघि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको छन् ।” “कुनै पनि बालबालिका स्कूल जानबाट वञ्चित नहोस्, कसैले पनि पढ्न नपाउने अवस्था नहोस् भनेर नै सरकारले गत वैशाख १ गतेदेखि विद्यायल भर्ना अभियान चलाएको हो”, उहाँले भन्नुभयो । कतिपयले वर्तमान सरकार बन्नुअघि नै अधिनायकवादको नारा लगाउँदै आएको भन्दै उहाँले कुनै दलले जे गरे पनि लोकतन्त्र हुने र अरुले केही गरे पनि लोकतन्त्र नहुने भनी प्रश्न गर्नुभयो ।

लोकतन्त्रलाई थितिमा चलाउनुपर्छ भन्दा निरङ्कुशताको आरोप लगाउनेलाई उहाँले आफ्नो सारा जीवन लोकतन्त्र विकासका लागि बितेको र लोकतान्त्रिक ढङ्गले नै अघि बढ्ने प्रण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो पार्टीको नीति पनि यही हो, कुनै पनि प्रकारको निरङ्कुशता हामीलाई चाहिएको छैन, हामी त्यस्तो हुन पनि दिँदैनौँ ।” प्रदेश नं २ को प्रदेशसभामा सम्बोधन गर्दा कोको होलो मच्चिएको विषयमा उहाँले सङ्घीय सरकार र प्रदेश सरकार तथा सङ्घीय संसद् र प्रदेशसभाबीचमा संवाद र समन्वय हुनुपर्ने बताउनुभयो । न्यायपरिषद्ले योग्यता भएको व्यक्ति पठाएपछि संवैधानिक परिषद्ले उपयुक्त ठानी सिफारिश गरेको तर सुनुवाइ समितिले आफूलाई लागेको निर्णय गरेकाले त्यसको खिल्ली उडाउन नहुनेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

कञ्चनपुरका घटनाका सम्बन्धमा उहाँले शुरुमा प्रहरीको भर परी काम गर्न निर्देशन दिएको तर प्रहरीको भूमिका उपयुक्त नलागेपछि अर्को टोली पठाएको र त्यसपछि त्यहाँको प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी परिवर्तन गरी सट्टामा नयाँ अधिकारी पठाएको जानकारी गराउनुभयो । सरकारले उक्त घटनाका पीडित परिवारलाई रु १० लाख क्षतिपूर्तिको व्यवस्था गरेको बताउँदै उहाँले सरकार यस्ता विषयमा सम्बेदनशील रहेको स्पष्ट पार्नुभयो । निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु