काठमाडौ । बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । शाहीले घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहाँ मानवीय क्षति भने नभएको बताए ।


स्थानीय विजेन्द्र बुढाथोकीका अनुसार उक्त ठाउँमा चाररपाँच दिनदेखि नै जमिनमा चिरा पर्न थालेको थियो । बिहीबार भूगर्भविदको टोली आएर चिरा परेको ठाउँ अवलोकन गरेको थियो । पानी बढी पर्न थालेपछि चिरा बढै गएको र घर भत्कन थालेकोसमेत बुढाथोकीले बताए । चिरा परेको ठाउँमा पहिला डाँडो थियो । खारेर प्लटिङ गरिएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने अनुमान भूगर्भविदले गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सम्बन्धित खबरहरु