काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले मधेसी भन्दैमा कर तिर्न पर्दैन भन्ने भ्रम कसैमा छ भने हटाउन आग्रह गरेका छन् । राज्य संयन्त्र चलाउनका लागि पनि कानूनले व्यवस्था गरे अनुसार कर तिर्नै पर्ने उनको भनाई छ । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरा गर्दै ठाकुरले ‘कर त तिर्नै पर्छ नि’, सबै जनता एकै हुन् राज्यको दायीत्व पुरा गर्नुपर्छ भने ।

संयोजक ठाकुरले भने, ‘मधेसीभन्दैमा छुट पाउने हुँदैन ।’ स्थानीय तहको करलाई लिएर विरोध भइरहेका बेला संयोजक ठाकुरले कर उठाउनुपर्ने पक्षमा धारणा राखेका हुन् । मधेसमा विकास हुन नसकेको ठाकुरले बताए । राज्यले मधेसमा विकास गर्न सधै उदासिनता देखाउने गरेको उनको भनाइ छ । ‘राज्यले पहाडमा मात्रै विकास गर्न चाहन्छ’, उनले भने, ‘तराईका धेरै जिल्ला अहिले पनि साक्षर छैन । विकास छैन । गरिवीमा छ ।’

तपाई पनि मन्त्री बन्नुभएको थियो किन विकास गर्नु भएन ? भन्ने प्रश्नको जवाफमा राजपा नेपालका संयोजक ठाकुर रिसाउँदै ‘हामीलाई विकास गर्नै दिएनन्’ भनेर जंगिए । प्रदेश २ मा मधेस केन्द्रित दलहरूको सरकार छ । तर, त्यो सरकारले सोँच अनुसारको काम गर्न सकेको छैन भनेर गुनासा आइरहेका छन् । सो विषयमा संयोजक ठाकुरले बजेट नभएका कारण प्रदेश २ को सरकारले काम गर्न नसकेको दाबी गरे ।

सम्बन्धित खबरहरु