काठमाडौ। अर्घाखाँचीको नरपानीमा पिकनिक खान गएको दुई समूहबीच दोहोरो भिडन्त भएको छ । उक्त घटनापछि नरपानी क्षेत्र तनावग्रस्त भएको छ । दोहोरो भिडन्तका क्रममा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । स्थानीयवासी चन्द्रप्रकाश महतराले दिएको जानकारीअनुसार कपिलवस्तु जिल्लाको ४ नम्बरबाट एक बसभरि पिकनिक खान गएको समूह र अर्घाखाँचीकै सन्धिखर्कबाट पिकनिक खान गएको समूहबीच भिडन्त भएको हो । कपिलवस्तु ४ नम्बरबाट गएको टोलीका एक व्यक्तिले निहुँ खोजेर अनायासै आक्रमण गरेपछि दोहोरो भिडन्त शुरु भएको खनालले बताए ।

स्थानीयवासी महतराका अनुसार सन्धिखर्कबाट प्रहरी निरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीलाई करीव साढे २ घण्टासम्म हम्मेहम्मे परेको थियो । पछिल्लो समय प्रहरीले घटनालाई नियन्त्रणमा लिएको छ तर सन्धिखर्क पक्षबाट सयौंको संख्यामा मानिसहरु थपिने क्रम जारी रहेकाले थप तनाव बढ्नसक्ने अनुमान गरिएको छ । यद्यपि प्रहरीले कपिलवस्तुको ४ नम्बरबाट गएको टोलीका आक्रमणकारीहरुलाई पक्राउ गरिसकेको बताइएको छ ।

सम्बन्धित खबरहरु