काठमाडौ । यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०मा आज आयोजित कार्यक्रममा ढाका जाने टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गर्नुभयो ।

टोलीमा २० खेलाडी तथा ११ अफिसियल सहभागी छन् । दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म बङ्गलादेशमा हँुदैछ । बिदाइपछि आजै नेपाली टोली ढाका प्रस्थान गरेको छ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट छन् । सो अवसरमा मन्त्री विश्वकर्माले संसारभर मुलुकलाई चिनाउने खेलकूद भएको बताउँदै प्रतियोगिता जितेर तीन करोड नेपालीलाई खुशी बनाउन खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले उपाधि जिते खेलाडीलाई अहिलेसम्मकै ठूलो सम्मान दिने बताउँदै मन्त्री विश्वकर्माले अहिलेको राष्ट्रिय टोलीले मुलुकको शिर उच्च बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

राखेप सदस्यसचिव विष्टले अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईवटा उपाधि जितेर इतिहास बनाउन कप्तान विज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनलाई अवसर प्राप्त भएकाले सो अवसर गुम्न नदिन आग्रह गर्नुभयो । एन्फा अध्यक्ष शेर्पाले साफ जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गर्नुभयो । “नयाँ आएको पदाधिकारी बैठकले साफ जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिने निर्णय गरेको छ,” अध्यक्ष शेर्पाले भन्नुभयो, “खाता रित्तो हँुदासमेत हामीले पुरस्कार दिने निर्णय गरेका छौँ, आगामी एन्फा समृद्ध भए अझै ठूलो पुरस्कार दिनेछौँ ।”

कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली लगातार तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेको र यसपटक पुराना नतिजा भङ्ग हुने बताउनुभयो । “टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन छ, अनुभवी खेलाडी छन्, टिममा भएका सबै खेलाडी प्राविधिक र दिमागी रुपमा निकै प्रशिक्षित छन् । सबै खेलाडी एउटै टिमबाट निरन्तर खेलिरहेको हुनाले जित निकाल्न सहज छ,” उहाँले भन्नुभयो । कप्तान महर्जनले साफ सुजुकी कप जित्दै नेपालीलाई खुशी बनाउन हरप्रयास गर्ने बताउनुभयो । “सागको गोल्ड जस्तै साफमा पनि पदक जितेर नेपालीलाई खुशी दिलाउन मेहेनत गर्नेछौँ ।”

दुईपटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतिजा निकाल्न सकेको छैन । पछिल्लो पटक २०१३ मा काठमाडाँैमै भएको प्रतियोगितामा नेपालल सेमिफाइन पुगेको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको हो । यसअघि १९९३, १९९९, १९९५, २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको छ ।

सम्बन्धित खबरहरु