पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ ।

सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो । गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो ।

प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो । राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो । विसं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पु¥याइएको थियो । तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्यालको नामबाट नामाकरण गरिएको उक्त नगरपालिकाको नाम हटाइएपछि उहाँको नामबाट कुनै प्राज्ञिक थलोलाई बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ । कविशिरोमणि लेखनाथका कृति तथा उहाँको व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने, उहाँको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो पुस्तकालय तथा देशभरका लेखक, कलाकारका सिर्जनासँग अघौंँ अचर्लेलाई जोड्नपर्ने जनस्तरबाट महानगरपालिकालाई सुझाव आएको छ ।

सम्बन्धित खबरहरु