काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीज भोली भाद्र २७ गते देशभर मनाइदैंछ । हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहँदैं आएको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेपनि आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिनादेखि नै दर खाने गर्दछन् । परापूर्वकालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । रासस

सम्बन्धित खबरहरु