काठमाडौ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ ।
हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै डा. तुम्बाहाङ्फे र दाहालले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलाहरुमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।


उपसभामुखले पौराणिक कालदेखि नै मनाइँदै आएको तीज पर्वले नेपालीहरुबीचको साँस्कृतिक र सामाजिक एकतालाई अझै बलियो बनाउने अपेक्षा लिनुभएको छ । ‘विविधताबीचको एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नेपालीहरुको परिचय हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यति हुँदा हुँदै पनि नेपाली मौलिक चाडपर्वहरु विस्तारै समयानुकुल संशोधित र परिमार्जित हुँदै आएका छन् ।’

तीजको सामाजिक र साँस्कृतिक पक्षबारे पछिल्ला दिनहरुमा छलफल र बहसहरु भइरहेको स्मरण गर्दै उपसभामुखले आफ्ना संस्कार र संस्कृति जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । ‘तर, त्यसो गर्दा कतिपय विभेदकारी संस्कारहरु छन् भने त्यसलाई परिमार्जित र परिस्कृत गर्दै नयाँ पुस्तालाई सिकाउने दायित्व पनि हाम्रै हो,’ शुभकामनामा लेखिएको छ । उपाध्यक्ष दाहालले तीजसहित तराई–मधेसमा मनाइने जितिया पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु