काठमाडौ । आम हिन्दु महिलाले धार्मिक आस्था र साँस्कृतिक महत्वका साथ आज हरितालिका (तीज) पर्व मनाए । यो पर्वमा अनावश्यक तडकभडक प्रदर्शन गरिन्छ भन्ने एकप्रकारको हौवालाई कतिपय महिलाले सौम्य र सभ्य तथा आदर्शका रूपमा पर्वमा सहभागिता देखाए । सामान्य रातो वस्त्र र शौभाग्यको प्रतीक सामान्य केही गरगहना साथ महिलाको देवस्थलमा आगमन भएको थियो । विगतमा सासू–बुहारीबीच भइआएका झमेलाका कुरा मात्र प्रस्तुत हुनेगरेको तीजको गीतमा समसामयिक समस्या र पीडा उजागर भए । यो पल्ट तीजपर्वमा गाइएका गीतमा पनि खासै उच्छृङ्खलता देखिएन, बरु आकाशिएको तरकारी भाउ, व्यवस्थित हुन नसकेको खरिद बजारमूल्य र अन्न अनाजमा मिसावट तथा सार्वजनिक यातायातमा भइरहेको ठगीलाई व्रतालुले गीतका माध्यमबाट पीडा व्यक्त गरे । बढ्दो यातायात दुर्घटनालाई पनि गीतमा गम्भीर रूपमा व्यक्त गरिएको पाइयो –पशुपति क्षेत्र विकास कोषका अधिकृत कमलबहादुर बोगटी भन्नुहुन्छ ।

वैदेशिक रोजगारमा गएका पति विदेशमै हराउने कारुण चित्रण पनि गीतमार्फत व्यक्त भए । बाध्यतावश महिलाले रोजगारीका लागि विदेशिनुपरेको घटना पनि गीतमा प्रस्तुत भए । यस्तै प्रस्तुति साथ महान् पर्व हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायत उपत्यकाका शिवालयमा तीजका व्रतालुको एकाबिहानैदेखि उल्लेख्य सहभागिता रह्यो । पशुपतिनाथमा व्रतालुका लागि बिहान साढे ३ बजे नै मन्दिरका चारै ढोका खुला गरिएका थिए ।
सिफलको भण्डारेश्वर, डिल्लीबजारको वसन्तेश्वर महादेव, अमालकोट कचहरीको खञ्जनेश्वर, मखन महादेव, कुलेश्वर, कोटेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, पशुपति मन्दिर परिसरको जोरेश्वर लगायतका शिवालयमा व्रतालुको उल्लेख्य उपस्थिति रह्यो । पशुपति क्षेत्र विकास कोषका मन्दिर हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार बिहान साढे ३ बजेदेखि नै प्रतिमिनेट ९० व्रतालुले पशुपतिनाथको दर्शन गरेको जानकारी दिनुभयो । रातिसम्ममा सवा लाखभन्दा बढी व्रतालुले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथको दर्शन पूर्व वा नाथको दर्शन पश्चात् भण्डारेश्वरको दर्शन नगरी फल नपाइने भन्ने कथनका आधारमा यहाँ यो आगमन देखिएको बताइएको छ । पशुपति क्षेत्रमा विशेष प्रवेश पास खारेज गरिएपछि योपल्ट अव्यवस्थित र अनावश्यक भीडभाडको अनुभव गर्नु नपरेको अधिकृत बोगटीले बताउनुभयो । पशुपतिनाथमा आउने सबैलाई योपल्ट चन्दन र पञ्चामृत प्रसाद स्वरूप प्रदान गरिएको थियो ।
कठोर व्रत बस्ने शैलीमा परिवर्तन हरितालिका तीजमा महिलाले पानी पनि नखाई कठोर व्रत बस्ने शैलीमा परिवर्तन आएको छ ।

पानी पनि खानुहुन्न भन्ने मान्यता राख्ने महिला पनि अहिले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुभएको छ । तीजका अवसरमा मीठोमीठो खाएर रातो सारी, चुरा पोते र शृङ्गारमा सजिएर छमछमी नाच्न पाउँदा महिलाले वर्षभरिको पीडा बिर्सिने गर्दछन् । मखनस्थित सानो पशुपतिमा पूजा गरिरहनुभएकी वर्षा सिवाकोटी तीज पर्व हिन्दु नारीका लागि विशेष पर्व हो, म पनि यसमा व्रत बसेकी छु तर निर्जल भने होइन, पूजा गरेर केही फलफूल र दूध खान्छु अनि दिनभरि साथीसँग नाचेर रमाइलो गर्छु भन्नुहुन्छ । सिवाकोटीले धर्मप्रति आस्था र भगवान्प्रति श्रद्धा भने रहेकाले व्रत पनि बस्ने, भोकभोकै बस्न नसक्ने बताउनुभयो । यस्तै हास्य कलाकार दीपाश्री निरौला तीजको छायाङ्कनमा व्यस्त भएकाले परिवारमा तीज मनाउन नसकेको जानकारी दिँदै मैले व्रत बसेर तीज नमनाए पनि आत्मसात भने गर्छु । व्रत बस्ने महिला दिदीबहिनीको साथमा हुन्छु भन्नुभयो । उहाँले तीजमा पानी पनि नपिएर व्रत बस्नु भन्ने मान्यता भने मलाई मन पर्दैन । आफूलाई चाहिने मात्रामा पानी, फलफूल खाएर व्रत बस्नुपर्छ भन्नुभयो ।

उता भर्खरै विवाहपछि पहिलो तीजको व्रत बस्दै गर्नुभएकी रिना कार्की पानी चाहिँ पिउँछु, सकिएन भने फलफूल पनि खान्छु तर स्वास्थ्यलाई नकारात्मक असर पर्ने गरी व्रत बस्न मलाई मन पर्दैन भन्नुहुन्छ । कार्कीले तीज भनेको रातो पहिरन लगाउने पर्व हो, त्यो रातो साडीलाई सुख, शान्ति र समृद्धिको प्रतीक पनि मानिन्छ । चाडपर्व मनैदेखि मनाउनुपर्छ, चलिआएको संस्कृति पछ्याउनुपर्छ, मैले पनि तीजमा रातो पहिरन लगाउने गर्छु पनि भन्नुभयो ।
यसैगरी गायिका इन्दिरा जोशी तीज धार्मिक दृष्टिकोणले ऐतिहासिक पर्व हो । यसपालिको तीजमा पनि शिवजीको व्रत बसेकी छु । व्रत बस्दा भोकको अनुभव हुँदा साथीसित नाचगान गरेर बिर्सिने गरे पनि पानी भने समय–समयमा पिउँछु । पानी शरीरका लागि अति आवश्यक पर्छ । समयैमा पानी नखाँदा अनेक शारीरिक समस्या आउन सक्छन् भन्नुहुन्छ ।

सम्बन्धित खबरहरु