काठमाडौ । आज हिन्दु नारीहरुको अत्यन्तै महत्वपूर्ण दिन हो । ऋषि पञ्चमीको दिनलाई विशेष रुपमा हेरिन्छ । तीजको व्रत पछिको हिजोको एकदिन गणेश चतुर्थी मनाएपछि आज फेरि दिदिवहिनी अनि आमाहरुले पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ व्रत बसेर ऋषि पञ्चमी मनाउँनुहुँदैछ । हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।

आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो । ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको ४ दिनहरुलार्इ चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।

शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः

  • या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
  • नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
  • या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
  • नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
  • या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
  • नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

शत्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन । महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ । आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।

पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएकोभए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ । आजका दिन काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्नेगर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।

वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । महिनावारीको समयमा छुवाछुत पनि यसवर्षदेखि नेपाल सरकारले अपराधका रुपमा कायम गरेको छ । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् । सप्तऋषिहरुको कृपा सदैव रहोस्, सबैजना सुखी होउन्, सबैको जय होस् ।

सम्बन्धित खबरहरु