डडेल्धुरा। असोज संक्रान्तिका दिन आज सुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित रामचन्द्र भट्टले बताए । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको उनले जानकारी दिए ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्दछ । गाई गोठालाले बाँझो जग्गा र दोबाटोमा सल्ला, बाँज, खर्सु लगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन पनि रहेको स्थानीय जानकार महिला इन्द्रा साउदको भनाइ छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।

सम्बन्धित खबरहरु