काठमाडौ । नेपाली समाज कहाँ जाँदैछ भन्ने संकेत डिजिटल मिडिया र सामाजिक सञ्जाललाई नजिकबाट नियाल्ने हो भने प्रष्ट देख्न सकिन्छ । प्रहरी इन्काउण्टरमा ललितपुरका २६ वर्षीय प्रवीण खत्री मारियो, धादिङका दिनेश अधिकारी चरि मारियो, इन्काउण्टरबाटै गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’लाईपनि मारियो । केही समय अघिमात्र बालक अपहरणकारी अजय तामाङ र गोपाल तामाङमाथि इन्काउण्टर गरी मारियो । त्यसपछि नेपाल प्रहरीको इन्काउण्टर बहसको विषय बन्यो ।

नागरिकले यति सजिलै भन्न थालि सकेकी केही बद्मासी गर्ना साथ नाम नै जोडेर त्यसलाई त प्रहरीले इन्काउण्टर गरिदियोस् । अहिले सामाजिक सञ्जालमा यस्तै भएको छ । साउन २२ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ भन्ने खबर आयो । अधिकांश डिजिटल पत्रिकाले यो खबर कभर गरे । त्यही खबर सामाजिक सञ्जालमा फैलियो । अधिकांश डिजिटल पत्रिकाका खबरको तल आएका प्रतिक्रिया हेर्ने हो भने नागरिकले सहजै लेखिदिएका छन् की यसलाई त इन्काउण्टर गरिदियोस् ।

हामीले यसअघि प्रकाशन गरेका अधिकांश समाचारको तल हेर्नुभयो भनेपनि प्रकाण्डलाई इन्काउण्टरका आशयका कमेण्ट गरेका छन् । आखिर किन यति धेरै दिग्दारी बनेका छन् त प्रकाण्डसँग । उनलाई हेटौंडाबाट काठमाडौं फर्कने क्रममा प्रहरीले अवैध चन्दा असुलीको आरोपमा काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीसहित साथमै रहेका अन्य २ जना पनि प्रक्राउ परेका थिए । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जबरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलायो । उनले अकुत चन्दा असुलेको, समाजमा आतंक फैलाएको भन्दै दर्जनौ जिल्लामा मुद्धा दायर गरेको छ ।

उनी बिरुद्ध राज्यले जबर जस्त दोष थोपरेर कानून विपरित मुद्धा चलाएको, धरपकड गरेको भन्दै अहिलेसम्म एक दर्जन पटक सर्वोच्च अदालतमा बन्दी प्रत्याक्षिकरण रिट दायर भएको छ । अदालतले फैसला गर्छ, अदालत नै पुर्याएर केही सेकेण्ड छोड्छ तर लगत्तै पक्राउ गरीहाल्छ । यो श्रृङ्खला एक दर्जन भन्दा धेरै पटक भएको छ । साउन २२ गते पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा बुझाईयो । अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो । प्रहरीले उनलाई पक्राउ गरी चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्ने म्याद थप गरेको थियो ।

त्यो बीचमा उनलाई कानून बिरुद्ध थुनेको भन्दै बन्दी प्रत्याक्षिकरण रिट दायर भयो । उनलाई साउन २७ गते प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगङ्गाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका थिए ।

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका थिए । विकले रिटमा पूर्वजानकारीविना, विनापुर्जी पक्राउ गरी राजनीतिक आस्थाका अधारमा चन्दासम्बन्धी झुट्टा मुद्दा लगाइएको रिटमा उल्लेख गरेका थिए । त्यसअघि नै पनि उनका भाईले दिएको रिट निवेदनमा अदालतले छोड्न आदेश दिएको थियो । अदालतको फैसला अनुसार सर्वोच्च परिसरमा थुनामुक्त गरियो । तर परिसर बाहिर निस्किन नपाउँदै फेरी पक्राउ गरियो । त्यसपछि परेको अर्को रिटमा फैसला गर्दै भदौ ७ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । आदेशमा भनिएको थियो, ‘मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणका आधारमा मुद्दा चलाउन कानुनले रोक लगाएको देखिँदा पुनः पक्राउलाई कानुनसङ्गत मान्न मिल्दैन ।’

सरकारले अटेर गरेपछि साउन २८ गते सर्वोच्च अदालतले फेरी प्रकाण्डसहित लिखित जवाफ पेश गर्न ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दियो । साउन २७ गते दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको थियो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको थियो । भदौ १ महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो ।

छोराले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चद्वारा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशपछि सर्वोच्च अदालत परिसरमा लगेर उनलाई थुनामुक्त गरियो । अदालतबाट बाहिरिनै लाग्दा प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीबाटै प्रहरीले प्रक्राउ गर्यो । प्रकाण्ड दोस्रो पटक अदालत परिसरबाटै पक्राउ परे । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । प्रहरीले प्रक्राउ गरेलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा मुद्दा चलाएको थियो । काभ्रेमा एनसेलको टावर आगजनी गरेको भन्दै प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएको र सोही मुद्दा अनुसन्धानका लागि उनलाई काभ्रे पठाएको प्रहरीले जनाएको थियो ।

भदौ ३ जिल्ला अदालत काभ्रेले प्रकाण्डलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि आदेश दियो । काभ्रे प्रहरीले १५ दिनको म्याद थप्न अनुरोध गरेको थियो । तर अदालतले थप तीन दिनको मात्रै समय दियो । जति पटक प्रकाण्ड पक्राउ पर्दछन् त्यति नै पटक अदालतमा बन्दी प्रत्याक्षीकरण रिट दायर हुन थाल्यो । त्यही रिटका आधारमा भदौ ४ सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गर्यो ।

भाई वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दियो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनु नपर्ने हो भनेर प्रमाणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । प्रहरीले उनलाई अदालतमा हाजिर गरायो । भदौ ७ गते सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गर्यो ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रकाण्डलाई सर्वोच्च अदालतको रजिस्ट्रारको रोहबरमा छाड्न आदेश दियो । अदालतको आदेशमा उनलाई थुनामुक्त गर्न फेरी अदालत नै लगियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । तर प्रकाण्डलाई अदालतको आदेशपछि पनि अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्यो । भोजपुर जिल्लामा भएको बम विस्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको थियो । भदौ ८ गते सर्वोच्चको आदेशपछि प्रक्राउ परेका प्रकाण्डलाई प्रहरीले नुवाकोट पुर्यायो ।

गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट पुर्याइएको प्रहरीले जानकारी दियो । गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको थियो । नुवाकोट जिल्ला अदालले प्रकाण्डलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गर्यो । सोही दिन प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्चमा प्रकाण्डका छोरा वीरेन्द्रले रिट दायर गरे ।

भदौ १० प्रकाण्डका भाइले दायर गरेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दियो । भदौ १८ सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रो पटक आदेश जारी गर्यो । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई नुवाकोट जिल्ला अदालतको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो । आदेशमा भनिएको थियो, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहबरमा छाड्नू ।’

आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानुनले रोक लगाएको नदेखिएको तर गैरकानुनी रूपमा राखेको भनी दुई पटक आदेश जारी गर्दा पनि आदेशको उल्लङ्घन गर्नुलाई अदालतले गम्भीरतापूर्वक लिएको छ । तर अदालतले थुनामुक्तको आदेश दिए पनि प्रकाण्ड फेरि पक्राउ परे । उनलाई अदालत परिसरबाटै भोजपुर लैजाने भन्दै प्रक्राउ गर्यो । भदौ १९– सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएपछि प्रक्राउ परेका प्रकाण्डलाई प्रहरीले नुवाकोटबाट भोजपुर पुर्यायो । भदौ २० गते भोजपुर पुर्याइएका प्रकाण्डलाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गर्न आदेश दियो । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्नामको एकल इजलासले ६० हजार धरौटीमा रिहाको आदेशलगत्तै अदालत परिसरबाटै प्रक्राउ परे ।

उनलाई त्यहाँबाट दाङ पुर्याइयो । धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटेका थिए ।

भदौ २२ गते धारौटीमा छुटेलगत्तै प्रक्राउ परेका प्रकाण्डलाई भोजपुरबाट २२ गते दाङ पुर्याइयो । थुनामै राखेर उनको अनुसन्धान भयो । भदौ २४ भोजपुरबाट दाङ पुर्याइएका प्रकाण्डलाई दाङ जिल्ला अदालतले आठ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दियो । त्यहाँ उनलाई प्रदेश तथा प्रतिनिधिसभा चुनावका बेला तुलसीपुरमा भएको बम विस्फोटका विषयमा मुद्दा दायर भएको थियो । भदौ २८ प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः दाङबाट काठमाडौँ पठाइयो ।

प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगेको थियो । उनको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौँ झिकाउन पत्र काटेपछि उनलाई काठमाडौँ पुर्याइयो । प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला काङ्ग्रेसले आयोजना गरेको चुनावी सभालाई बिथोल्न बम विस्फोट भएको थियो । उक्त बम विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको आरोप लागेको थियो । भदौ २९ सर्वोच्च अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गर्यो । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई गैरकानुनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिस्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो ।

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षणसमेत गरेको थियो । प्रकाण्डलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक थियो । सर्वोच्चले थुनामुक्त गर्न आदेश दिए पनि उनी अदालत परिसरबाट फेरि पक्राउ परे । गत शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतमा ल्याइएका उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गर्यो । भदौ ३१ गते सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका विश्वकर्मालाई प्रहरीले तत्कालै पक्राउ गर्यो । त्यसपछि आइतबार उनलाई जिल्ला अदालत उदयपुरमा हाजिर गराइयो । त्रियुगा नगरपालिका–१३ हवाई मैदानमा भएको बम विस्फोटनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

उनलाई जिल्ला अदालतले आइतबार नै ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसरी पटक पटक सर्वोच्च अदालतको थुनामुक्त आदेश गरे पनि विभिन्न मुद्दामा प्रक्राउ पर्दै आएका प्रकाण्डलाई रिहाइका लागि सर्वोच्च अदालतमा पाँचौँ पटक रिट दायर भएको छ । प्रकाण्डका भाइ वीरेन्द्र विकले आइतबार पाचौं पटक उनलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । निवेदनको पेशी सोमबारका लागि तोकियो । सोमबार उनलाई अदालतमा हाजिर गराउन आदेश दिइयो । प्रहरीले अदालत लिएर गयो । सोमबारपनि थुनामुक्त गर्न अदालतले आदेश दियो । सर्वोच्च अदालत परिसरमा उनलाई थुनामुक्त गरियो । तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनलाई पुनः पक्राउ गरियो । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । ‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले जानकारी दिए ।

यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो । चन्दा असुली गरेको आरोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डीएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी बनाइन्छ तर सरकार टेर्दैन । यसरी क्रमिक रुपमा प्रकाण्डलाई प्रहरीले देशभरी नै घुमाउँदै पक्राउ गरिरहेको छ । भने यता नागरिक इन्काण्टरको माग गरिरहेका छन् । यसले अब कुनैपनि बहानामा जनतालाई दुख दिने काम गरे जनता निर्मम ढंगले उत्रिन्छन् भन्ने देखिन्छ ।

सम्बन्धित खबरहरु