काठमाडौ । मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । मजदुरले गाडी नचलाउँदा राजधानी काठमाडौ लगायत देशभरी नै यातायातको समस्या भइसकेकोक छ । चाडबाडको मुखमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

कानूनले अत्यावश्यक सवारी साधनमा हड्ताल गर्न नपाईने कडा कानूनी व्यवस्था राखेको छ । तर सरकार रमिते मात्र बनेको छ । नयाँ मुलुकी फौजदारी संहितामा सजायँको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा छन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन । तर हड्ताल भने भइरहेको देखिन्छ । जति मात्रामा गाडी गुड्दथे त्यो स्थिती देखिन्न । यातायात व्यवसायीहरुपनि केटाहरु नै काम गर्दिन भन्छन् । गाडी चलाउन समस्या भयो भनेर हारगुहार गरिरहेका छन् ।

कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् । दाङमा यायातात समितिको टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् । कैलालीबाट पनि लामो तथा छोटा दुरीका सवारी साधन चलेका छैनन् । स्थानीय प्रशासनले गाडी चलाउने विषयमा पहल गरेको छैन । बसहरु बसपार्कमा पार्किङ गरेर राखिएको छ तर गाडी चालकहरु कोही पनि सम्पर्कमा छैनन् ।

पूर्व क्षेत्रमा पनि सार्वजनिक गाडी नचलेको तीन दिन भइसकेको छ । चालकहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा टेन्ट गाडेर ठूला सवारी साधनहरुलाई रोक्ने गरेका छन् । धनुषाको जनकपुर क्षेत्रमा बसपार्कमा गाडीहरु थन्काइएका छन् । पूर्वी तराईलाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, बर्दिवास–औरही–जलेश्वर, जनकपुर–जलेश्वर सबै खण्डमा सार्वजनिक यातायातका साधन ठप्प छन् ।

सम्बन्धित खबरहरु