विराटनगर । विराटनगर महानगरपालिका– १८ बुधनगर जाने बाटोनजिकै हिमपाइपमा टाउको कुहिसकेको र शरीर कुहिँदैगरेको अवस्थामा एउटा शव फेला परेको छ । टाउकोको कंकालमात्रै भेटिएको छ भने शरीरमा किरा लागेको छ । जिल्ला प्रहरी कार्यलय मोरङ र इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान करीब १ घण्टाको प्रयासमा जेसीबीको प्रयोग गरी कंकाल हिमपाइपबाट निकालेको हो । शवको प्रकृति हेर्दा अन्दाजी २५ – ३० वर्ष उमेरको पुरुषको शव हुन सक्ने प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए । यसअघि विराटनगर १४ जतुवामा एक युवतीको शव फेला परेको थियो । हत्या गरी फालिएको अवस्थामा फेला परेको शवको अझै पनि पहिचान भएको छैन ।

शव भेटिएका पुरुषको बारेमा पनि प्रहरीले केही बोलेको छैन । एकपछि अर्को शव फालिएको अवस्थामा भेटिँदै जानु र प्रहरीले शव भेटिएका व्यक्तिको पहिचान गर्न नसक्नुले घटना थप रहस्यमय बन्दै जान थालेको छ । यसअघि भेटिएकी युवतीको शव र यी पुरुषको शवको दूरी नजिकै छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबरहरु