काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट खरिद गरेर ल्याएको ‘वाई १२–ई’ सिरिज जहाजले पहिलो पटक लुक्लामा परीक्षण उडान गरेको छ। सोमबार नेपाल वायु सेवा निगमले परीक्षण उडानको प्रयास गरेपनि मौसमका कारण सफल हुन सकेको थिएन । मौसमकै कारण रामेछापको विमानस्थलमा आकस्मिक अवतरण भएको थियो ।

धैरे लामो समयपछि अन्ततः लुक्लामा वाई १२ जहाजको परीक्षण उडान गर्न सफल भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । निगमले छिट्टै नियमित उडान गर्ने उनले दाबी गरे। जहाजलाई प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले उडाएका थिए । साथमा निगमका पर्फमेन्स इन्जिनियर विशाल पौडेल, क्याप्टेन प्रशन्न राणा, को–पाइलटहरू राज रौनियार र महेशराज पाण्डे तथा क्याबिन क्रु प्रशान्त ओली थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू पनि परीक्षण उडानमा सहभागी थिए।

निगमसँग अहिले १८ सिट क्षमतामको ४ वटा वाई १२ जहाज छन् । त्यसमध्ये एउटा अनुदानमा र ३ वटा सफ्ट ऋणमा चीनसँग खरिद गरेको हो । निगमको पहिलो वाई १२ जहाज २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो। चार वर्षअगाडि दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारकै लागि भनेर चीन सरकारसँग ४ वटा वाई १२ र सुगम क्षेत्रको उडानका लागि २ वटा एमए ६० जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

जहाज खरिदमा सरकारको करिब ६ अर्ब खर्च भएको छ । तर, निगमसँग ४ वटा वाई १२ जहाज उडानका लागि ४ जना पाइलट मात्रै छन् भने अहिले एमए ६० र वाई १२ जहाज उडानका लागि भन्दै १२ जनालाई प्रशिक्षण दिइरहेको छ ।

सम्बन्धित खबरहरु