काठमाडौ । डा. गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् । संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनस् अनशन बस्ने चेतावनी दिएका हुन् ।

उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभइ कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए । ‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु’, केसीले कान्तिपुरसँग भने, ‘भोलि (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदैछ । चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो ।’

उनले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन रहेको आरोपसमेत लगाए । आफ्नो स्वार्थ पूरा नहुने भएपछि विधेयक तुहाउने र अलमल्याइराख्ने षडयन्त्र संसदमा सुरु भएको उनले दाबी गरे । संसदबाट समितिमा र समितिबाट उपसमितिमा पठाएर यतिका दिनसम्म विधेयकबारे गम्भीर छलफल नहुनुले षडयन्त्रलाई थप पुष्टि गरेको उनको भनाइ छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खबरहरु