काठमाडौं । एक युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न नसकिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । महिला हिंसाको अवस्था र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मन्त्री र प्रहरी प्रमुखसँग गरेको छलफलमा महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

बम्जनले बलात्कार गरे पनि पीडित युवतीले बलात्कृत भएको २ वर्षपछि मात्रै मुख खोलेका हुनाले बम्जनलाई पक्राउ गर्न नसक्ने उनले बताए । उनले भने ‘तत्कालीन कानुन अनुसार बलात्कार भएको ६ महिनाभित्रै उजुरी गर्नुपर्ने थियो । भदौ १ गतेदेखि लागु भएको फौजदारी संहिताले समेत बलात्कारका घटना विरुद्ध उजुरी दिनुपर्ने हदम्याद १ वर्ष मात्रै तोकेको छ ।’ उनले घटना २ वर्ष अघि भएका कारण कानुनी रूपमा उनलाई पक्राउ गर्न नमिल्ने समेत बताए ।

रौतहटकी एक १८ वर्षीया किशोरीले आफू आनी बन्न गुम्बा जाँदा धर्मगुरु बम्जनले बलात्कार गरेको आरोप लगाएकी छन् । धर्मगुरु बन्ने सपना देखेर गुम्बा गएको तर आफूले भगवान् मानेको गुरुले नै बलात्कार गरेको भन्दै ती युवती उजुरीको लागी प्रहरी परिसर टेकुसम्म पुगेकी थिइन् ।

२०७१ साल साउन २८ गते सर्लाहीको पत्तथरकोट स्याङकोडाँडामा अवस्थित धर्मगुरु रामबहादुर बम्जनको आश्रममा थिइन् । कलिलै उमेरमा मातृवियोगको सामना गरेकी उनी सांसारिक मायामोहबाट मुक्ति पाउन भन्दै बम्जनको आश्रम पुगेकी थिइन् ।

उनी आफू पनि बेम्जन जस्तै धर्म गुरु बन्ने सपना बोकेर १४ वर्षको उमेरमा गुरुको आश्रम पुगेकी थिइन् तर बेम्जनको आश्रम त आफूले चलचित्रमा देखेको मुम्बईको कोठी जस्तो रहेको उनको दाबी छ । बम्जनले आफ्नी श्रीमती नभएको बेला उनलाई बलात्कारको गरेको उनको दाबी छ ।

बम्जनबाट आफू बलात्कृत भएपछि उनले आश्रम छाड्ने र प्रहरीमा उजुरी गर्ने योजना बनाए पनि बम्जनकी श्रीमती र बम्बजनले धम्काएपछि उजुरी गर्न नसकेको उनको उनको भनाई छ । प्रहरी परिसर टेकु पुगेकी उनलाई हदम्याद नाघेको घटना भन्दै उजुरी लिन नमाने पछि कालिमाटी महिला सेलले उनको जिम्मा लिएको छ । साभार श्रोतः न्यूज२४नेपाल

सम्बन्धित खबरहरु