सीबी अधिकारी, काठमाडौ । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् ।

बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ । यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गर्नुभयो ।

यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दशैँ लक्षित टिकट करीब सकिएको छ । फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन् । यो कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् । बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दशैँको ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको बताउनुभयो । यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उहाँले बताउनुभयमे । श्री एयरसँग दुई ७० र दुई ५० सिट क्षमताका जेट इन्जिन विमान छन् । नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तब्यमा टिकट सकिएको जनाएको छ । अन्य सुगम गन्तब्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिनुभयो । निगमले आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ ।

अतिरिक्त उडान थप्ने तयारी

दशैँमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् । यती एयरलाइन्सका प्रवक्ता राईले अतिरिक्त उडान थप्नेबारे अहिलेको अवस्थामा भन्न नसकिए पनि यात्रुको मागअनुसार अतिरिक्त उडान गरिने बताउनुभयो ।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्यअनुसार ६० देखि ७५ प्रतिशत दशैँको टिकट बुकिङ भएको जानकारी दिनुभयो । सरकारले तोकेको न्यूनतम र अधिकतम भाडा दरअनुसारनै यात्रुलाई गन्तब्यमा लगिने उहाँले बताउनुभयो । चाडबाडमा यात्रुको बढी चाप हुने र एकतर्फीमात्रै यात्रु हुने हुँदा केही तलमाथि पर्नसक्ने प्रवक्ता आचार्यको भनाई छ । दशैँमा यात्रुको चाप, गन्तब्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको सङ्घले जनाएको छ । आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

सम्बन्धित खबरहरु