सप्तरी । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिनुभयो ।

उहाँले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्तालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्ने तथा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र महँगी नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । ‘प्रदेश नम्बर २ सरकारको गतिविधि सन्तोषजनक नभए पनि’ आन्दोलन र जनताको भावनाको सम्मान गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै महतोले कमजोरी हटाई सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन बलियो बनाउन लागिएको जानकारी पनि दिनुभयो ।

सम्बन्धित खबरहरु