काठमाडाै । नेपाल आइटीमा राम्रो सम्भावना बोकेका देशहरुमध्येको एक हो । झण्डैं ५ सय कम्पनी रहेको नेपाली इन्फर्मेशन टेक्नोलोजी मार्केटमा १० हजार बढीले रोजगारी पाएका छन् ।

'गुपचुप'जस्तो देखिने नेपाली आइटीको लहरो सम्पन्न देशहरुमा हुने विजनेश प्रोसेसिङ आउट सोर्सिङ (बिपिओ)सँग जोडिएको छ ।

आउट सोर्सिङबाट नेपालका आइटी कम्पनीहरुले वाषिर्क रुपमा २५ देखि ३० मिलियन डलर (करिब ३ अर्ब रुपैयाँ) नेपाल भित्र्याइरहेको ब्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार यो बजारलाई ब्यवस्थित गर्न सकेमा यस्तो आम्दानी पाँच गुणासम्म वृद्धि हुने सम्भावना छ ।

यी कम्पनीमा काम गर्ने कर्मचारीको सेवा सुविधा पनि निकै आकर्षक हुन्छ । यस्ता कम्पनीमा काम गर्ने मानिसले मासिक न्यूनतम २५ हजार देखि २ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

 आइटी इन्जिनियर वा माथिल्लो पदमा रहेर काम गर्ने कर्मचारीका लागि अन्य विशेष सुविधा उपलब्ध गराइएको हुन्छ । उनीहरुले विदेशका सुविधासम्पन्न कम्पनीमा काम गरेको आनन्ददायक अनुभव नेपालकै यी आईटी कम्पनीबाट लिने गरेका छन् ।

सफ्टवेयर डेभलपमेण्ट, एप, वेव सिष्टम, एसइओ, वेब साइट डिजाइन एवं डेभलपमेण्टजस्ता आइटीसँग सम्बन्धित कामहरु नेपाली आइटी कम्पनीले विदेशका विभिन्न देशहरुका लागि गर्छन् ।

अहिले भारत, चीन, फिलिपिन्स, भियतनाम, कोस्टारिका जस्ता देश आउट सोर्सिङका प्रमुख हबका रुपमा रहेका छन् । त्यसपछिको ठूलो सम्भावना बोकेको देशका रुपमा नेपाललाई हेरिएको छ ।

नेपालमा ५ सय आइटी कम्पनीहरुमध्ये धेरैजसो कम्पनी नेपालीकै लगानीमा खडा भएका छन् । केही कम्पनीहरु भने विदेशीहरुले चलाइरहेका छन् । तर, ति सबै कम्पनीमा नेपालीहरु नै काम गर्छन् । नेपालमा रहेका केही ठूला मध्येका १० आइटी कम्पनी यस्ता छन्

१. भेरिक्स इन्फर्मेशन टेक्नोलोजी : सन् २००० मा अमेरिकामा बस्ने नेपाली रुद्र पाण्डेले क्रिस काइटरसँग मिलेर डिटु हकाई कम्पनी खोलेका थिए । त्यो कम्पनीले नेपालमा पनि आइटी कम्पनी स्थापना गर्‍यो ।

 सम्भवतः नेपालको आउट सोर्सिङमा पायोनियर मानिने यो कम्पनी पछि सन् २००९ मा भेरिक्सको नामले चिनिन थाल्यो । अहिले कम्पनीले अमेरिकी बजारमा नेपालबाट ठूलो मात्रामा आउट सोर्सिङ गर्छ । पाण्डेले यो कम्पनी अहिले विदेशीलाई नै बेचिसकेका छन् ।

भेरिक्समा ३५० जना भन्दा बढीले काम गर्छन् । यसले सफ्टवेयर डेभलमेण्टका विभिन्न कामहरु गर्छ । हात्तीसारमा रहेको यो कम्पनीले अमेरिकामा चर्चामा रहेका कम्पनीहरुसँग सहकार्य गरेको छ । अमेरिकी हेल्थ केयर र इन्स्युरेन्सका सफ्टवेयर बनाउने लगायतका कामको आउट सोर्सिङ यो कम्पनीले गर्दै आएको छ ।

२. डियर वाक : यो कम्पनी पनि रुद्र पाण्डेकै हो । पाण्डेले भेरिक्स विदेशीलाई बेचेपछि यो कम्पनी खोलेका हुन् । नेपालमा आइटीको ठूलो कम्पनी मध्येमा गनिन्छ डियरवाक । पाण्डे अमेरिकामा बसेर नेपालमा यो कम्पनी हाँक्छन् ।

आइटी कलेज खोल्ने लक्ष्य लिएको यो कम्पनी पहिले पाण्डेकी श्रीमतीले चलाउथिन पछि उनी स्वयं त्यहाँ गए । सन् २००९ मा खोलिएको यो कम्पनीले अमेरिकी बजारबाट आउट सोर्सिङको काम लिने गरेको छ ।

 कम्पनीका सोलुसन आर्टिटेक्ट लभ काफ्लेकाअनुसार अहिले डियर वाकमा झण्डैं ३५० जनाले काम गर्छन् । अमेरिकी मेडिकेयर क्षेत्रका आइटीसँग सम्वन्धित कामहरु यसले गर्दै आएको छ । डियर वाक सफ्टवेयर निर्माणका लागि कहलिएको कम्पनी हो । यसको मूख्य कार्यलय काठमाडौंको सिफलमा छ ।

३. एफ वान सफ्ट : ११ वर्षअघि एक सामान्य युवा विद्यार्थी विश्वास ढकालले कोठाबाट सुरु गरेको कम्पनीले अहिले एफ वान सफ्टका रुपमा नेपालमा मात्र होइन्, विश्व बजारमै नाम कमाइरहेको छ ।

नेपालमा क्यास अन एड, इ-सेवा, फोन पे जस्ता चर्चित सेवाका साथै बैकिङ सफ्टवेयर तथा एप्स निर्माणमा समेत एफ वान सफ्टले ख्याति कमाएको छ । २५० जना स्टाफ रहेको यो आइटी कम्पनीमा १२० जना त इन्जिनियर मात्रै छन् । कमलपोखरीमा रहेको यो कम्पनीको छातामुनि अन्य चार वटा कम्पनी फोन पे (इसेवा), सिरनटेक, धर्मा टेक र क्यास अन एड छन् । यो कम्पनीमा काम गर्ने जनशक्ति सबै नेपाली हुन् ।

४. स्प्राउट टेक्नोलोजी : स्प्राउट टेक्नोलोजी नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो विदेशीले नेपालमा सञ्चालन गरेको आइटी कम्पनी हो । विश्वका ३० देशहरुमा आउट सोर्सिङ गर्ने यो कम्पनीले आफ्ना कामहरु नेपाल र केन्यामा बढी फोकस गरेको छ ।

याे कम्पनीमा १३० जनाले काम गरिरहेका छन् । अनलाइन जबहरु, सफ्टवेयर, डाटा इन्ट्रीलगायतका कामहरु यो कम्पनीले गर्छ । यसको मुख्य कम्पनी भने क्लाउड फ्याक्ट्री हो । यसको कार्यालय ललितपुरको भैसीपाटीमा रहेको छ ।

५. इबी पर्ल्स : इबी पर्ल्स  नेपालका आइटी कम्पनीहरुको लहरमा अर्को ठूलो कम्पनी हो । काठमाडौंमा १२० स्टाफ सहितको कार्यालय रहेको रहेको यो कम्पनीले २८०० प्रोजेक्टमा काम गरिरहेको छ । वेव डिजाइन, मोबाइल एप, इ-कमर्स, इन्टरप्राइजमा यो कम्पनीले काम गर्दै आएको छ ।

कुपण्डोलमा मूख्य कार्यलय रहेको इबी पल्र्सको शाखा कार्यलयहरु अस्ट्रेलियाको सिड्नी, मेलबर्न र लण्डनमा रहेका छन् । यो अस्ट्रेलियन मल्टीनेशलन कम्पनी हो । यसले अस्ट्रेलियन सरकारका विभिन्न निकायदेखि सामसुङलगायत विभिन्न कम्पनीहरुसँग काम गरिरहेको छ ।

६. लिपफ्रग : हिमालप्रसाद कर्माचार्य प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी लिपफ्रग नेपालको आइटी कम्पनीहरु मध्येको अर्को ठूलो कम्पनी हो । सन् २०१० मा ८ जना स्टाफ लिएर सुरु भएको यो कम्पनीले दुई वर्षमै ठूलो छलाङ मार्न सफल भएको हो ।

लिपफ्रगका एचआर म्यानेजर प्रकाश ढकालका अनुसार कम्पनीले अमेरिकाको म्यासाच्युट्स राज्यमा रहेको लिपफ्रग टेक्नोलोजी अाइएनसीको 'क्लाइन्ट'का रुपमा काम गर्छ । 'हामीले मुख्य गरी युएसका लागि काम गर्छौ,' उनले भने ।

अहिले यो कम्पनीमा १२० जना कर्मचारी कार्यरत छन् । जसमध्ये १ सय बढी इन्जिनियरहरु छन् । कम्पनीले प्रत्येक वर्ष भर्खरै इन्जिनियरिङ पास गरेका विद्यार्थीहरु लिनका लागि तीन वटा ट्रेनिङ समेत गर्ने गरेको छ । कम्पनीले सफ्टवेयर डेभलमेण्टको काम गर्छ । यो कम्पनीको कार्यलय डिल्लिबजारमा रहेको छ ।

७. एभिओन्ते : नयाँ बानेश्वरमा रहेको एभिओन्तेले नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो कम्पनीको मुख्य काम सफ्टवेयर डेभलपमेण्ट हो । यसले इबुक, डाटा माइग्रेशन, अमेरिकन बैंकको डाटा सेक्युरिटी, डाटा कन्भर्जनलगायतका कामहरु गर्छ । यो कम्पनीले नेपालका केही बाहेक सबै अमेरिकाको काम गर्छ ।

 अमेरिका मुख्य कार्यालय रहेको यो कम्पनीको स्थापना सन्दीप आचार्यले आफ्ना साथीसँग मिलेर गरेका हुन् । यो कम्पनीको नेपाल अफिसको सिइओ अहिले उनकी श्रीमती सलुजा आचार्य छिन् । यो कम्पनीमा झण्डैं १ सय बढीले काम गर्छन् । जसमा ६० जनाभन्दा बढी  आइटी इन्जियिनर छन् ।

८. ब्रेन डिजिट आइटी सोलुसन : सन् २००८ मा स्थापना भएको नेपाली बजारको अर्को आइटी कम्पनी हो ब्रेन डिजिट । कालिकास्थान काठमाडौंमा रहेको यो आइटी कम्पनीले ग्लोबल मार्केटमा विजनेश एप्लीकेशन डेभलमेण्ट, इन्टरप्राइज कन्टेण्ट डेभलपमेण्ट, मोबाइल एप, कोलाबोरेटिभी इ-कमर्स सोलुसनजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रेन डिजिटले क्यानडा र फिलिपिन्समा आउट सोर्सिङ गर्छ । यसबाहेक विश्वका अरु विभिन्न देशहरुमा पनि यसले आफ्ना उत्पादनहरु पुर्‍याउँदै आएको छ । यसले नेपालको श्रम मन्त्रालय र एनसेलका प्रोजेक्टहरुमा पनि काम गरेको छ । कम्पनीले विभिन्न अवार्डहरु पनि हात पारेको छ । हरिमान प्रधान यसका अध्यक्ष रहेका छन् भने निश्चलमान प्रधान प्रमुख कार्यकारी अधिकृत हुन् । यसमा १ सय बढी कर्मचारी रहेका छन् ।

९. योमरी सोलुसन : सन् १९९७ मा स्थापना भएको हो योमरी सोलुसन । यो नेपालको पूराना आइटी कम्पनीमध्येको एक हो । योमरीले सफ्टवेयर निर्माण, वेव डेभलपमेण्टलगायतका विभिन्न कामहरु गर्छ ।

यसले नेपाल सरकार, सार्क, नेपाल टेलिकमलगायतका विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन तथा ब्यवसायिक, शैक्षिक घरानाका प्रोजेक्टहरुमा काम गरिसकेको छ ।  ललितपुरको मानभवन कार्यालय रहेको यो आइटी कम्पनीमा ७० जना भन्दा बढीले काम गर्छन ।

१०. एक्सेस कि : अर्जुन ठकुरी प्रमुख कार्यकारी अधिकृत रहेको एक्सेस की पनि नेपालका ठूला आइटी कम्पनी मध्येकै अर्को एक हो । जसमा ५२ जना कर्मचारीहरुले काम गर्छन् । यसले वेव साइट डिजाइन तथा डेभलपमेण्ट, इकमर्स, सर्च इन्जिन अप्टीमाइजेशन, मोबाइल एप्लीकेशनलगायतका विभिन्न कामहरु गर्दै आएको छ । एक्सेसकीले पनि आफ्ना प्रोडक्टहरु आउट सोर्सिङ गर्दै आएको छ । एक्सेस कीको कार्यालय काठमाडौंको रवीभवनमा रहेको छ ।

आइटीका अन्य १० ठूला कम्पनीहरुः

  • ११. लिंक प्लस
  • १२. माइक्रोसफ्ट इनोभेसन सेन्ट
  • १३. जाभ्रा
  • १४. एसपीआई
  • १५. ग्रोबाइ डाटा
  • १६. लगप्वाइन्ट
  • १७. जानकी टेक्नोलोजी
  • १८. लिंक प्रोफेसनल कम्प्युटर सिष्टम
  • १९. मण्डला सफ्टवेयर
  • २०. हाइटेक सोलुसन

सम्बन्धित खबरहरु