काठमाडौ । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग रु २५ हजार घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उहाँलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध रु २५ हजार बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिहं रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग रु पाँच हजार घुस मागेको अभियोग उहाँहरुमाथि लागेको छ । यस्तै आयोगले साविक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौँका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सम्बन्धित खबरहरु