सिराहा । सिराहा नगरपालिका १७ बसपार्कबाट सोही नगरपालिका १४ बस्ने ३२ वर्षीय बशिष्ठकुमार यादवलाई अवैध रुपमा ल्याएको सुन सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा स. ७ प ७५१५ नम्बरको मोटरसाइकल चालक बशिष्ठकुमारको साथबाट ५० ग्राम सुन बरामद गरेको हो । प्रहरीले मोटरसाइकलमा सवार दिलिपकुमार यादव समेतलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध मदिरा नष्ट  : बझाङ । बझाङको विभिन्न घरहरुबाट संकलन गरिएको करिब ५ हजार ३ सय लिटर अवैध मदिरा आइतबार प्रहरीले नष्ट गरेको छ । जयपृथ्वी नगरपालिका(१० र मस्ता गाउँपालिका-१ स्थित करीब २५ वटा घरमा रहेको अवैध मदिराको बारेमा विशेष सूचना प्राप्त गरी जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले तलासी गर्दा उक्त मदिरा फेला पारी नष्ट गरेको हो । नष्ट गर्ने क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान बिनोद क्षेत्री घाइते भएका छन् । उनको जिल्ला अस्पातलमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्ने शंकास्पद १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी  : काठमाडौ । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर डेरा गरी बस्ने ओखलढुंगा ढुङग्रेकी सुमिना खत्रीको कोठाबाट आइतबार कोही नभएको अवस्थामा करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गहनाहरु चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली डेरा गरी बस्ने सप्तरी राजविराज नगरपालिका २ की ३५ वर्षीया शान्तिकुमारी देवीको कोठाबाट आइतबार कोही नभएको अवस्थामा सुनका विभिन्न गहना र नगद ९६ हजार समेत गरी करीब १ लाख ९९ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला : ललितपुर । दाङ, प्युठान र ललितपुरका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । दाङ घोराही उपमहानगरपालिका(१६ बाहुन डाँडा बस्ने ५० बर्षीय झुपलाल ओली आफ्नै घरमा मादक पदार्थ सेवन गरी सुतेकोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । प्युठान नौबहिनी गाउँपालिका(४ खबाङ बस्ने ६० बर्षीय टेकमान गिरी सोही ठाउँस्थित जङ्गलमा घाँस काट्न जान्छु भनी घरबाट निस्केकोमा घरदेखि करीब २ किमि पर आइतबार मृत अवस्थामा फेला परेका छन् । ललितपुर महानगरपालिका(१७ ग्वार्कोस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर महानगरपालिका(९ च्यासलस्थित महानगर यातायातको बसपार्कमा पुरुष जातको नवजात शिशु आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु : काठमाडौ । सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेपलान्चोकमा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घिच्चेमा बा. ३ ख ३३३१ नम्बरको ट्रिपर दुर्घटना भई घेलुङ खोलामा खस्न जाँदा बलेफी गाउँपालिका-१ सिम्ले ढाडे बस्ने ६० वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर चालक बाह्रबिसे नगरपालिका(७ बस्ने २२ बर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नगरपालिका-५ खाबाँ बस्ने २४ वर्षीय प्रबिण बाँनिया समेत गम्भीर घाइते भएकाले उपचारको लागि धुलिखेलतर्फ पठाइएको छ । नुवाकोट लिखु गाउँपालिका-६ छहरे बजारमा ना.६ त ८४५५ नम्बरको ट्याक्टर रोडबाट करिब ५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टर चालक पर्सा बीरगन्ज बस्ने ४० वर्षीय धर्मराज थारु घाइते भएकाले ग्रिन सिटी अस्पताल हुँदै वीर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-४ गणेश सवालस्थित सडकमा ना.४ त २८४० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सर्लाही हरिपुर बस्ने ईरमन मन्सुरको शिर मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई वीर अस्पताल काठमाडौं पठाइएको छ । ट्याक्टर चालक सर्लाही बगतपंचात-४ बस्ने २४ बर्षीय कासी मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेहोस भई मृत्यु  : काठमाडौ । भक्तपुर मध्यपुरठिमी नगरपालिका(३ गठ्ठाघरमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीयको पुरुष बाटोमा बेहोस अवस्थामा फेला परेकाले नागरिक अस्पताल गठ्ठाघर पठाइएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु : धनुषा । गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया बस्ने २६ वर्षीय गेनालाल महराको सोही ठाउँस्थित कमला नहरमा माछा मार्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु : महोत्तरी । बर्दिबास नगरपालिका-६ रातुखोलास्थित ना.१ क ८६२९ नम्बरको टिपर धुने क्रममा चालक धनुषा गणेशमान चारनाथ नगरपालिका-५ का ३१ वर्षीय पर्बत आलेमगरको करेण्ट लागेर आइतबार मृत्यु भएको छ । टिपर धुन टिपरको छतमा चढेको अवस्थामा अचानक ११ हजार भोल्टको लाईनमा छुन गई करेण्ट लागेर गम्भीर घाइते भएका आलेमगरको लालगढस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति : काठमाडौ । भोजपुर र मोरङमा आइतबार आगलागी हुँदा करिब १ करोड १५ लाख ३३ हजार ८ सय ५० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । भोजपुर नगरपालिका -७ च्याङबेनी चोकस्थित केएफसी होटलको भान्सा कोठामा ग्याँस लिक भई आगलागी हुँदा पहिलो तला पूर्णरुपमा र दोस्रो तल्ला आंशिक रूपमा जलेर करिब १ करोड ११ लाख ३३ हजार ८ सय ५० रुपैयाँ बराबरको धनमाल क्षति भएको हो । मोरङ पथरी शनिश्चरे नगरपालिका -२ देबिगंज बस्ने निरज राईको गोठमा खोले पकाउनको लागि बालिएको आगोबाट आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु