काठमाडौ । नेपाल तरुण दलले रोल्पा नगर अध्यक्ष रोहित पुनका हत्यारालाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै मानवअधिकार आयोग गुहारेको छ । गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको असक्षमताले अभियुक्त पक्राउ नपरेको तरुण दलको आरोप छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भूपेन्द्रजंग शाहीलगायतको टोलीले सोमबार राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाउँदै पुनको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको हो ।

तरुण दलले पुनको हत्यामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकर्ता देव घर्तीलगायतको समूह संलग्न भएको भन्दै उनलाई सहिद घोषणा गर्न पनि माग गरेको छ । ‘यस घटनामा प्रत्यक्ष संलग्न सम्पूर्ण दोषीलाई कानुनी कारबाही र मृतकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी रोहित पुनलाई न्याय दिलाउन सरकार एवं सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गरिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

गृहमन्त्रीकै आदेशमा प्रहरीले अभियुक्त पक्राउ नगरेको तरुण दलका नेताहरु बताउँछन् । राजनीतिक प्रतिशोध लिई तरुण नेता पुनको सुनियोजित ढंगबाट हत्या भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरी प्रशासनले गम्भीरता नदेखाएकाले मानवअधिकार आयोग गुहार्न बाध्य भएको तरुण दलका अध्यक्ष बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबरहरु