काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी ९० प्रतिशत सफल हुनुपनि पर्याप्त उपलब्धी हैन भन्दै प्रहरी हेडक्वाटरमा कड्कीएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी अरु कार्यालय जस्तो हैन केही प्रतिशत सफल हुँदा नी खुशी हुने यो त सतप्रतिशत सफल हुने संगठन हो भन्दै त्यो नतिजा निकाल्न अझै मेहनत गर्न प्रहरी अधिकारीहरुलाई निर्देश गरे । यद्यपी सीमित स्रोत साधनका बाबजुत नेपाल प्रहरीले अमनचयन र शान्ति सुरक्षामा पुर्‍याराएको योगदान प्रशंसनीय रहेको बताए । शान्ति सुरक्षामा संयुक्त राष्ट्रसंघमा प्रहरीले खेलको भूमिकाले नेपाल विश्वको पाँचौं राष्ट्रका रुपमा चिनिन सफल भएको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले तथ्यांकका आधारमा प्रहरीले ९० प्रतिशत अभियुक्त समात्न सफल भएपनि कुनै एक घटनामा कमजोरी देखियो भने त्यो कमजोरी परिपूर्ति गर्न गाह्रो हुने बताए । उनले भने, ‘तथ्यांकले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको देखिएता पनि यसलाई पर्याप्त मान्न सकिदैन । यद्यपी यो आकडा महत्वपूर्ण आकडा हो । यो सफलता देखिएता पनि तर एउटा संवेदनशील मुद्दामा तपाईंहरु यदी असफल हुनु भयो भने त्यसले पुर्याउने क्षतिलाई सजिलै भरपुर गर्न सकिँदो रहेनछ । त्यो दृष्टान्त हामी संग छ । यसलाई मनन् गर्न आवश्यक छ।’

अपराध अनुसन्धानमा अब्बल रहेको प्रहरीले आफ्नो साख कायम राख्न अझबढी व्यवसायिकता प्रदर्शन गर्न जरुरी रहेको उनको भनाइ छ । ठूला राजनीतिक उपलब्धीहरु हासिल भएको भन्दै उनले संघीयता कार्यान्वयनका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्री ओलीले आमनागरिकको सेवाका लागि सरकारी प्रतिनिधिका रुपमा प्रहरी नै अग्रपंतिमा रहेको उल्लेख गर्दै सरकारको प्रभावकारीता देखिने गरी घरघरमा पुग्नु पर्ने बताए । मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको प्रधानमन्त्री ओलीको भनाई छ । यसका लागि प्रहरी संगठनको प्रमुख जिम्मेबारी रहेको उनले बताए ।

सम्बन्धित खबरहरु