काठमाडौ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक गरिएको छ । वाटर एटिएम नमूना सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी झारेर पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिनुभयो ।

ललितपुरको सैंबु, भैँसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटिएमको नमूना प्रदर्शन गरिएको थियो । वाटर एटिएमलाई नेपालीमा पधेँरो नामकरण गरिएको छ । निश्चित पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप वाटर एटिएमको शुरुआत गरिएको हो । उक्त एटिएमबाट २०० मिलिलिटर र एक लिटर पानी पिउन पाइने व्यवस्था गरिएको छ । २०० मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ ।

उक्त एटिएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ । वाटर एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटिएम राख्दै लगिने जानकारी दिनुभयो । चालू आवभित्र २० वटा वाटर एटिएम राखिने बोर्डको भनाइ छ ।

सम्बन्धित खबरहरु