मोहन गोले तामाङ / यतिबेला हिन्दूहरुको महान चाड भनिने बडादशैं सुरु भएको छ । रेडियो, टेलिभिजनमा दशैंको धुन गुन्जिरहेका छन् । पत्रपत्रिकामा दशैंया शुभकामनाले पेज भरिएको छ । सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक स्थानहरुमा दशैंको शुभकामना आदानप्रदान भईरहेको देख्न सकिन्छ । लाखौ निर्दोष प्राणीहरुलाई बली दिएर मनाईने पर्वमा समेत मान्छेहरु बुझेर या नबुझेर ब्यर्थको शान्ति अलापीरहेका छन् । अनावश्यक खर्च, तडकभडक, आक्रमक शैलीको प्रचारप्रसार र चहलपहलको हिसावले नेपालमा मानिने पर्वहरु मध्येकै सबैभन्दा ठूलो पर्व बडादशैं नै हो । त्यसैले त यसले राष्ट्रिय पर्व र बडापर्वको पदवी पायो ।

आधुनिक नेपालको विस्तार अघि यो पर्व बडापर्वको रुपमा स्थापित भएको कहिं कतै पाईदैन । त्यसताका यहाँका रैथाने जातिहरु उद्यौली उभौली, ल्होछार, लोसार, माघी, माघे संक्रान्ति जस्ता मौलिक संस्कृतिमा आधारित पर्वहरु मान्दथे । तर राज्यसत्ताको श्रीपेच जुन समुदायको सर्दारहरुले लगाए, दशैं पनि उसँगसँगै उदाएको इतिहास छ ।

कुनै राजनीतिक घटनाक्रमपछि उदाउने संस्कार र यस्ता पर्वहरु राजनीतिक हो कि साँस्कृतिक हो ? यो हामीले बुझ्नुपर्दछ । ढिलै भएपनि पछिल्लो चरणमा यस सम्बन्धि बहसको प्रारम्भ भएको छ । कुनैपनि पर्व राजनीति हो कि संस्कृति हो भन्ने कुराको निक्र्यौल यसको सुरुवाती इतिहास अध्ययनबाट निर्धारण गर्न सकिने कुरा हो । कुन प्रसँगबाट त्यो पर्व मान्न थालियो भन्ने ऐतिहासिक पक्षलाई बुझेर मात्र राजनीति वा संस्कृतिको टुंगोमा पुग्न सकिन्छ ।


मानव समुदायको प्रकृतिसँगको तादम्यता र निरन्तर सम्पर्कबाट स्थापित पर्वहरु जसले समय सूचनाको समेत काम गर्दछ भने त्यस्तो पर्वहरु साँस्कतिक पर्व हो । जसले मानिसको दैनिक जीवन प्रक्रियासँग सामिप्यता राख्दछ र त्यस भूगोलभित्र बस्ने सबैको लागि त्यो साझा नियम बन्दछ । यदि उसले त्यसलाई अस्वीकार गरेको खण्डमा लगत्तै उसको जीवनमा त्यसको प्रभाव पर्दछ । जस्तोः तामाङ समुदायले मान्ने सोनाम ल्होछार पर्वलाई उदाहरणको रुपमा लिउँ । यो पर्व तामाङको जन्मेदेखि मृत्युसम्म अति आवश्यकीय ल्हो परम्परामा आधारित छ ।

उसको जीवनको प्रत्येक घडी, प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुन्छ । प्रकृतिको गतिसँग सम्बन्धित पर्व हुनाले यसले कुन समयमा कुन खेतिपाती लगाउने, कुनबेला कुन बाली सप्रिने, बिग्रने तथा कुनबेला बर्षात हुने र खडेरी पर्ने आदि कुराको समेत जानकारी दिन्छ । तसर्थ, आदिवासी ज्ञानबाट स्थापित यस्तो ल्हो विज्ञानलाई अस्वीकार गरेर तामाङ समुदायको मौलिक जीवन शैली अघि बढ्नै सक्दैन । त्यस्तै उद्यौली उभौली पर्वको मान्यता अनुसार जाडोमा उसले हिमाली क्षेत्र छोडेर उधों नझरे कठ्याग्रिएर मर्नुपर्छ । उसको कृषि जीवनमा असर पुग्छ र पालेको वस्तुभाउ समेत मर्ने हुन्छ ।

बसोबासको हिसावले फेरि गर्मी सिजनमा उभों लाग्नुपर्छ । यस्तो विज्ञानसम्मत महत्व बोकेको पर्वलाई अस्वीकार गरेर उसको रैथाने जीवन प्रक्रिया चल्दैन । त्यसकारण साँस्कृतिक पर्व भनेको त्यो हो, जो रमाईलोको लागि मात्र मनाईदैन । जीवन धान्नको लागि अनिवार्य रुपले प्रकृतिको नियमभित्र रहेर मान्ने गरिन्छ ।

तर कसैले कसैको हत्या गरेको, कोहीमाथि कसैले विजय प्राप्त गरेको, कोहीमाथि हावी भएको अवसरमा या कुनै प्रभुत्वशाली समुदायको निश्चित मान्यताहरु जर्वजस्त अन्य समुदायमा लागू गराउन मानिएको चाड हो भने त्यो राजनीतिक पर्व हो भनेर बुझ्नुपर्छ । जुन पर्व नमान्दा उसको प्राकृतिक जीवनमा कुनै प्रभाव पर्दैन तर उप्रति सत्ताको राजनीतिक कुदृष्टि रहन्छ । उसलाई समाजमा सत्ताबाट प्रायोजित प्रचारको विरोधी पात्रको रुपमा चिनाईन्छ । यसबाट दशैं नमान्दा रैथाने समुदायले बिगतमा देशद्रोही, अराष्ट्रिय तत्व जस्ता आरोपको सामाना गर्नुप¥यो भने अहिले बिखण्डनकारी, जातिवादी, संस्कृति विरोधी र एकता विरोधी जस्ता आरोपको सामाना गर्नु परिरहेको छ । यो पढेपछि लेखकलाई पनि त्यही लाईनमा उभ्याइने छन् ।

तर सत्य त केलाउनै पर्छ । यसलाई बुझ्न दशैंशास्त्रको इतिहासले के बताउँछ ? भन्ने पाटोलाई नै मुख्यगरी हेर्नु आवश्यक छ । खासगरी नेपालमा दुईवटा दशैं मान्ने गरिन्छ । एउटा सानो चैते दशैं, जो चैत महिनाको कृष्ण अष्टमीमा मनाईन्छ । अर्को बडा दशैं, जो असोज–कातिक महिनातिर घटस्थापनाको दिनदेखि सुरु भई पुर्णेसम्म लगभग १५ दिन जति मनाईन्छ । उत्पादन कार्यलाई समेत प्रभावित पार्ने गरी १५ दिनसम्म दशैं मनाउँदा आर्थिक अवस्था कमजोर भएका कतिपय घरपरिवारको सदस्यहरु दशैं मानेकै कारण मुगलान भासिनु पर्ने अवस्था समेत आउँछ ।

त्यसैले नेपाली समाजमा एउटा चल्तीको उखान छ– आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।
हामीमा धेरै मान्छेहरु यस्ता चेतनाको छौ जो दशैंको ऐतिहासिक पक्षको बारेमा सामान्य जानकारी पनि राख्दैनौ । दशैंशास्त्रसँग जोडिएको देवी भनिने पात्र दुर्गा र राक्षस भनिने पात्र महिषासुरको कथा रेडियोमा सुन्छौ । टेलिभिजनमा हेछौ तर प्रश्न गर्दैनौ । किनकि नेपालको राज्य धर्मले हामीलाई प्रश्न बिनाको मान्छे बनाइदिएको छ । चौकचौकमा दुर्गा, महिषासुरको युद्ध भएको र बध गरिएको मूर्ति बनाएर पूजा गरिन्छ, नाटक खेलाउने र भजन गाईरहेका हुन्छन् ।

हामी मानव निर्मित मूर्तिलाई श्रद्धापूर्वक ढोगेर ढुक्कसाथ घर फर्किन्छौ । ठूलै फल प्राप्ती हुने आशा पनि गर्छौ तर हाम्रो मनमा कुनै प्रश्न उब्जिदैन । किनकि हिन्दू राष्ट्रको ईश्वरवादले हाम्रो भौतिकवादी चिन्तनलाई मारिदिएको छ । जो शक्तिशाली ईश्वरको अगाडि मृत्युशैयाबाट उठेर तर्क गर्ने हिम्मत राख्दैन । यो सवालमा आफूलाई ठूला कम्युनिष्ट हुँ भन्ने कमरेडले पनि रामनामी बर्को ओढेर लाजले मुख छोपेको देखेको छु ।

हामीले बुझ्नुपर्ने पक्ष के हो भने कुनैपनि पर्व साँस्कृतिक हो भने त्यसले कसैको हार, जितको कथासँग सम्बन्ध राख्दैन । दशैंसँग जोडिएको कथामा दूर्गालाई सत्यको प्रतिक र महिषासुरलाई असत्यको प्रतिकको रुपमा चित्रण गरिएको छ । हिन्दू पुराणका लेखकहरुले दूर्गालाई कही नभएकी बिछट्टै राम्री, मृग नयनी, हात्तीको सुड जस्तो हातपाखुरा भएकी, ३२ लक्षणले युक्त सुन्दरी र अनार्य नश्लका राजा महिषासुरलाई कालो अनुहारको, अलछिना, लामालामा दाह्रा पलाएको र हेर्दै डरलाग्दो भनेर ब्याख्या गरेको छ । दुर्गा आर्य कन्या हुन्, जसलाई पछि दुर्गा माता भनेर पूजा गरियो भने महिषासुरलाई कसैले यादव वंशका, कसैले द्रबिडियन वा किराती मूलका हुनसक्ने अनुमान गरेका छन् । जसले गर्दा अहिलेपनि भारतको उडिसा, झारखण्ड क्षेत्रका आदिवासीहरुले यो उत्सवको विरोध गर्छन् ।

त्यही पुराणे ब्याख्या अनुसार मुर्तिकारहरुले पनि महिषासुरको डरलाग्दो आकृतिको मूर्ति बनाई दिए । वास्तवमा आर्य मान्यता अस्वीकार गर्ने महिषासुरको बध गर्न इन्द्रले यो प्रपञ्च रचेका हुन् । आफूले जित्न नसकेपछि अन्तमा दुर्गा नामको कन्यालाई पठाएर महिषासुरको बध गरियो । यो युद्ध चैत महिनाको कृष्ण अष्टमीदेखि सुरुवात भई असोज कातिक शुक्लपक्षमा पर्ने महानवमीको रात महिषासुरको बधसँगै अन्त भएको थियो । यसकारण चैत कृष्ण अष्टमी जो युद्ध सुरुवात भएको दिन हो, त्यसलाई सानो सुरुवाती चैते दशैं भनियो ।

जसमा टीका लगाईदैन, मासुभात खाएर रमाईलो मात्र गरिन्छ भने कातिक कृष्णपक्षको दशमी तिथि जो विजय प्राप्त गरिसकेको हुँदा टीका लगाउने परम्परा बसाइयो । महानवमीको राती महिषासुरको बध गरेर त्यसको भोलिपल्ट उसको रगतमा चामल मुछेर टीका लगाउँदै सबै आर्यगणले बिजयोत्सव मनाए । एक हप्तासम्म आफ्नो समुदायमा टीका लगाएर खुशीयाली मनाउन उर्दी जारी गरे । जसले गर्दा अहिले पनि रातो रंगलाई महिषासुरको रगतको प्रतिक मानेर टीका लगाउने गरिन्छ । त्यसैले यस्तो टीका जो विजय प्राप्त गरेका समुदाय हुन्, उनले आफ्नो पूर्खाको बीरताको मालश्री गाउँदै खुशी मनाउनु स्वभाविक होला । तर हारेका जनजातिहरुले पनि रातो टीका लगाएर खुशी मनाउनु अज्ञानता सिवाय अरु केही होइन ।

अर्कोतर्फ आर्य कन्या दुर्गाले महानवमीमा अनार्य महिषासुरको बध गर्नु अघिको ६ महिनाभन्दा लामो समयसम्म इन्द्र र उसका फौजले महिषासुरसँग लडाइँ लडेका हुन् । दुर्गा एक्लैले यति लामो समयसम्म लडिरहनु कल्पनाभन्दा बाहिरको कुरा हो । लामो लडाइँमा पनि इन्द्रले महिषासुरलाई हराउन नसकेपछि दुर्गा नामको विषकन्यालाई पठाएर हत्या गर्न सफल भए । दुर्गा एउटा अवला नारी जसले कथामा बर्णन गरे जस्तो महिषासुर जस्तो बीर पुरुषलाई आमनेसामने लडेर मार्न सम्भव नै छैन । कथामा दुर्गाको १८ वटा हात, त्यतिकै संख्यामा खुट्टा भएको, सिंहमा चढेर हिड्ने सिंहबाहिनी, छिनछिनमा रुप परिवर्तन गर्न सक्ने बहुरुपिणी भनेर ब्याख्या गरिएको छ ।

महिषासुरलाई भने राँगाको रुप धारण गरेर आएको भनेको छ । जब कि युद्धमा राँगाभन्दा मान्छे भएर लड्नुमै सहज हुन्छ । यो जितारु कथाकारको अतिरञ्जित बढाई चढाई हो । अहिलेसम्म विज्ञानले दुईवटा भन्दा बढी हात भएको मान्छेको पुष्टि गरेको छैन । त्यसो त हिन्दूको सबैभन्दा पुरानो ऋगबेदमा पृथ्वी चेप्टो छ, यसको बीच भागमा सबैभन्दा अग्लो सुमेरु पर्वत छ, पृथ्वीलाई शेषनागले अडाएको हुँदा नागले काँध फेर्दा भुकम्प गएको हो भनेर मनगढन्ते कुरा उल्लेख गरेका छन् । त्यस्ता हावादारी कुरा आजको २१ औं शताब्दीका बाहुन युवाहरुले घोकेको देख्दा भने लेखकलाई उदेक लागेर आउँछ । त्यसकारण दुर्गा त्यस्तो शक्तिशाली कन्या हुँदै होइनन्, हुनै सक्दैन । केही इतिहासकारको दाबी अनुसार उनी विषकन्या हुन् भन्नेमा चै सत्यको नजिक देखिन्छ ।

त्यसबेला दुई तरिकाले विषकन्या उत्पादन गरिन्थ्यो । एउटा सुन्दर युवतीको गुप्ताङ्गमा विषको अदृष्य लेप लगाउने र अर्को बच्चैदेखि बिष सेवन गराई त्यसको मात्रा बढाउँदै लगी तरुनी हुने बेलासम्ममा जस्तोसुकै विष पचाउन सक्ने विषकन्या उत्पादन हुन्थ्यो । त्यसकारण इन्द्रले युद्धमा महिषासुरलाई हराउन नसकेपछि उनको दरबारमा दुर्गा नामको बिषकन्या पठाएका हुन् । तिनै रुपवती विषकन्या दुर्गासँगको सम्पर्कबाट महिषासुरको मृत्यु हुन गएको हो ।

कथामा महिषासुरलाई मध्यरातको समयमा हत्या गरिएको उल्लेख छ । जब कि त्यसबेला युद्धको नियम दुवै पक्षले खुबै पालना गर्थे । उज्यालो भएपछि युद्ध सुरु भएको घोषणा गरेर नै लडाइँ लड्थे र साँझ परेपछि शंख बजाउँदै घोषणा गरेर नै युद्ध विराम गरिन्थ्यो । त्यसैले उनलाई युद्धमा हराएर मारेको भए दिउँसो मार्नुपर्ने देखिन्छ । यसबाट बुझ्न सकिन्छ कि इन्द्रले युद्ध विरामको अवस्थामा रातको समय पारी युद्धमा थाकेर आराम गरेका महिषासुरको शयनकक्षमा बिषकन्या दुर्गालाई पठाएर नै हत्या गरिएको हो ।

किनकि त्यस कालखण्डमा विश्वविजेता सिकन्दरलाई समेत हत्या गराउन उनको राज्यमा शत्रुपक्षले विषकन्या पठाएको थियो । तर गुरु अरस्तुले थाहा पाई उनलाई रोकेर बचाए । पछि परिक्षणको लागि दासहरुलाई चुम्बन गराउँदा उनीहरु मरेपछि सिकन्दरले ती कन्याको टाउको छिनाई आगोमा फ्याक्न लगाए । चन्द्रगुप्तलाई समेत हत्या गर्न विषकन्या पठाएका थिए । बिषकन्याबाट हत्या गरिएका यस्ता थुप्रै घटनाहरु छन् । त्यसबेला आजको जस्तो शत्रुसँग लड्ने आधुनिक हातहतियार नहुँदा कि जालझेल, छलकपट गर्नुपथ्र्यो कि मल्ल युद्ध नै लड्नुपथ्र्यो ।

संसारकै महादानी राजाको रुपमा चिनिने बली राजालाई छलकपटबाट बिष्णुले पात्ताल पठाएको थियो । त्यसबेला आर्य नायक इन्द्र र उसको बंश, प्रजाति बस्ने सिन्धु नदिको उर्वर क्षेत्रलाई स्वर्ग, देवलोक भनि बर्णन गरिएको छ । यसैगरी गर्मी, भोक र रोगग्रस्त क्षेत्र अरब, अफ्रिकी क्षेत्रलाई पात्ताल, नर्कलोकको संकेत गरिएको छ । तर हिन्दू कथामा भनिए जस्तो काल्पनिक स्वर्गलोक र नर्कलोक कतै अस्तित्वमा भेटिदैन ।

त्यसैले कथाले पुष्टि गर्छ– दशैं साँस्कृतिक पर्व होइन, राजनीतिक पर्व हो । एउटाले जितेको, अर्कोले हारेको दिनलाई सबैको साझा, एकता र बिजयको साँस्कृतिक पर्व मान्न मिल्दैन । जितेकोले मान्नु स्वभाविक होला तर हारेकोले पनि ६ महिना अघिदेखि गोठमा राँगा, सुंगुर पोस्नु, १५ दिन अघिदेखि दाँत तिखार्नुमा कुनै गुन्जाइस छैन । हारेकोले त पश्चाताप गर्ने हो, समिक्षा गर्ने हो र कसरी जित्न सकिन्छ भनेर योजना बुन्ने हो । तसर्थ, दशैं जितेको विजित पक्षले आफ्नो वंशको कथालाई स्थापित गराउन साँस्कृतिक पर्वको हल्ला चलाए ।

हामी सत्य खोज्नेतिर नलागी हल्लाको पछि दौडियौ । दशैं मान्न अस्वीकार गर्ने रामलिहाङ र रिदामा दुई आठपहरिया युवाहरुलाई वि. सं. १९२४ मा जंगे राणाले हत्या गरेकोबाट पनि यो राजनीतिक पर्व हो भनेर बुझ्नमा सहयोग पु¥याउँछ । दुईजनालाई मारेपछि उसका अन्य आठपहरिया दाजुभाईहरुलाई राँगा र बोका काटेर दशैं मान्य बाध्य पारियो । दशैं नमाने रिदामाकै हालत हुने चेतावनी दिइयो । दशैं नमान्ने लिम्बुहरुको किपट खोस्ने धम्की दिइयो । साँस्कृतिक पर्व मान्नको लागि राज्यले यसरी आदेश दिनु पर्दैन, प्रकृतिले पो दण्डित गर्छन् ।

अहिले पनि राणा खलकमा बिजयादशमीको दिन खुल्ला ठाउँमा उभिएर हावामा नाङ्गो तरबार नचाउने चलन छ । यो एकप्रकारको राजनीतिक युद्ध अभ्यासको निरन्तरता हो । २००७ सालसम्म दशैं नमान्ने जनजातिहरुलाई कारवाही गरिन्थ्यो । दशैं सकिनासाथ छड्के निरीक्षणमा कालो दौरा सुरुवाल लगाएको सिपाहीहरु गाउँ गाउँमा खटाइन्थ्यो । उनीहरुले बलि पूजा गरे÷नगरेको, ढोकामा रगतको पञ्जाछाप लगाए÷नलगाएको प्रमाण हेर्थे । दशैं भाग भनेर राँगा, सुंगुरको मासुमासु भएको साप्रो राणाको पहरेदारी काम गर्ने गाउँको तालुकदारलाई पु¥याईन्थ्यो । जसको घरमा पञ्जाछाप लगाएको हुँदैनथ्यो, उसलाई देशद्रोहीको आरोपमा दुःख दिने गरिन्थ्यो ।

त्यसकारण दशैं नितान्त राजनीतिक पर्व हो । जसलाई शासकहरुले काल्पनिक हिन्दू जीवन दर्शनको मुख्य आधार पर्वको रुपमा स्थापित गरे । कतिपय रैथाने सभ्यताले विकास गरेको मान्यतालाई पनि उनीहरुले यसमा मिसाईदिएका छन् । जस्तोः दशैंमा टीका लगाइसकेपछि टुसा आउने जमरालाई कानमा सिउरिदिन्छन् ।

जमरा रैथाने सभ्यताले विकास गरेको परम्परा हो । यस्तो छ्यासमिस देखेपछि हामी रनभुल्लमा पर्छौ र सामान्य चेतनाहरु जाँडको तालमा हाम्रै पर्व हो भन्दै बुरुक्क उफ्रिन्छन् । तर फिरन्ते जीवन दर्शनले त्यतिसम्म ग्रहण गर्छ जतिले उसलाई घाटा हुँदैन, अर्थात उसको मूल सिद्धान्तलाई बिगार्दैन । अरुलाई भ्रमित पार्नु र अन्तत अरुको अस्तित्वलाई सिध्याउनु घुमुवाहरुको कर्म (काम) हो ।

किनकि अरुमाथि हावी नभई बाहिरिया जीवन प्रणाली नयाँ ठाउँमा बाँच्नै सक्दैन । यसको जीन नै माकुराको जस्तो हुन्छ । जसले माउँ पक्षलाई खाएर मात्र हुर्कन्छ । यस्ता दर्शनशास्त्रीय पक्षलाई बुझ्न हामीले न मान्छे मान्छे एकै हो भन्ने गीत गाएर हुन्छ न मान्छेको दुई जात मात्रै हो भन्ने सर्वहारा नारा उरालेर नै हुन्छ । त्यसैले धर्म होइन, दर्शनलाई बुझ्ने प्रयत्न गरौ । अन्तमा, हिन्दूहरुको पर्व दशैंको समस्त हिन्दूजनमा शुभकामना । धन्यवाद ।।

सम्बन्धित खबरहरु