काठमाडौ । असोज ३० गते नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाईँ कार्यक्रम सम्पन्न भएको छ । बढाईँ कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी राष्ट्रपतिमा नेपाली सेनाको सम्मान गारत टोलीले सलामी अर्पण गरे पश्चात बडा दशैं २०७५’को उपलक्ष्यमा कवाज टोलीले राईफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे बढाईँ, लहरे बढाईँ, एकठ्ठा बढाईँ तथा षट्कोण फर्मेसनमा बढाईँ र तोपबाट बढाईँ गरेको थियो ।

कार्यक्रमको अन्त्यमा, बढाईँ कवाजमा भाग लिने बाहिनी, गण तथा गुल्महरुले इज्जत अर्पण कवाज समेत प्रदर्शन गरेका थिए । सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाबाट श्री फष्ट रेञ्जर बटालियन र श्री महाबल गणलाई निशान र पेशागत प्रतियोगिता २०७४’मा प्रथम हुने श्री केवलजंग गुल्मलाई व्यानर प्रदान गर्नुका साथै २६ जना प्रमुख सुबेदार तथा सुबेदारहरुलाई मानार्थ उपसेनानीको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको थियो ।

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईँ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओम प्रकाश मिश्र, सभामुख श्री कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना, मन्त्री, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथी तथा पूर्वरथी, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरु, सेनानी समूह लगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबरहरु