जनकपुरधाम । बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष रोशनशेखर जयसवालका अनुसार मध्यान्ह् १२ बजेसम्म प्रसाद चढाउने र खोंइछ भर्ने महिलाको भीड लागेको छ ।

प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्नपछि मन्दिर सफा गरी साँझ हुने बोका बलिको तयारी गरिने बताइएको छ । सो मन्दिरमा आज करीब १२ हजार बोकाको बलि दिने अनुमान गरिएको छ । त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमा स्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिला लाममा लागेका छन् । विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदखि नै खोंइछ भर्ने महिलाको भीड रहेको छ ।

सम्बन्धित खबरहरु