भत्तपुर । आज राति नवदुर्गा मन्दिर भक्तपुरमा निख्खर कालो खम्ये (राँगो) को बलि दिईदैछ । धार्मिक मान्यताअनुसार खम्ये निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, शरीरमा सातवटा चक्र भएको र मोटोघाटोे हुनुपर्छ । खम्येलाई महिषासुर राक्षसको प्रतीकका रूपमा लिइन्छ ।

महानवमीको राति ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणका लागि बलि दिने चलन छ । खम्येलाई भिœयाएपछि महानवमीसम्म भक्तपुर नगरपालिका ९ गछेंस्थित नवदुर्गा देवीको देवगृहभित्र राखेर पाल्ने गरिन्छ । विधिवत् रूपमा नवदुर्गा द्यछें भिœयाएको खम्येलाई महानवमीको साँझ ब्रह्मायणी लैजाने समयमा मात्र बाहिर निकालिन्छ । सोही दिन खम्येलाई जाँडरक्सी खुवाउने र शरीरभरि तेल लगाएर अबिर छरेर दौडाएर ब्रह्मायणी पीठ पु¥याउने प्रचलन छ । नवदुर्गालाई राँगो, बोका, भेंडा, कुखुरा र सुँगुरको पञ्चबलि दिइन्छ ।

महिषासुरको प्रतीक मानिएको खम्येलाई दौडाएर ब्रह्मायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खम्ये व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा) का रूपमा लिइन्छ । नवदुर्गा भवानीको जात्रापर्व चलाउन उत्पत्तिदेखि अन्त्यसम्म वा वर्षभरिको पर्व चलाउन १९ जना देवगणको आवश्यकता पर्छ । वर्षभरिमा १३ पटक मन्दिरभित्र तथा बाहिर पशुहरूको बलि दिई नाइके गण तथा देवगणका सम्पूर्ण परिवार भेला भएर पूजाआजा गर्दै भोज खाने र खुवाउने गर्नुपर्छ । वर्षभरि जात्रा चलाउन वार्षिक करिब ९ लाख रुपैयाँ आवश्यक पर्छ । एक देवगणले तीन महिनासम्म नृत्य सिक्न मात्र ८० हजार खर्च हुन्छ । देवगणका अनुसार जात्राका लागि सिंह, दुम्ब, बालकुमारी र श्वेतभैरव गरी चार जना वनमाला थरका बालबालिका आवश्यक पर्छ । नृत्यका लागि १२ वर्षमुनिका नाबालक हुनुपर्छ ।

 

सम्बन्धित खबरहरु