झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विस्वासलाई तलमाथी पर्न नदिने बताउनुभएको छ । आफैले आयोजना गरेको शुभकामना कार्यक्रमलाई आज झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विस्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिवद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढिकुटीको चरम दोहन गरेकोले बढाउन नसकिएको प्रधनमन्त्री ओलीको भनाइ छ । “अब ढुक्क हुनुहोस । आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढिकुटीलाई विस्तारै मजवुद बनाउदैछौं ।” प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताउनुभएको छ । “धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्ने पर्दछ” प्रधानमन्त्री ओलीलले भन्नुभयो “दुईबर्ष भित्र काठमाडौंका सडक सफा भइसक्छन् ।”

प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपालको संयुक्त परिवार प्रणाली विश्व मै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्ध्भाव कायम गरेका छन्” प्रधानमन्त्री ओलीलले भन्नुभयो “चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो । त्यो कामना वर्तमान सरकारले पुरा गर्छ ।”यस अघि प्रधानमन्त्री ओलीले भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिका विमोचन गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु