दोलखा । दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वास स्वरूप प्राचीनकालदेखि सञ्चालन हुँदै आएको सांस्कृतिक खड्ग जात्रा दोलखामा सुरु भएको छ । सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाका साथ देवदेवीका सेनामेनाहरू विजयदशमीको भोलिपल्ट एकादशीको बिहानदेखि नै युद्धको अभिनय गर्दै दोलखा बजारमा नाचगान गर्दै जात्रा मनाउँछन् ।

मन्दिर र मूर्तिहरूको सहरले परिचित दोलखा बजारको टोल र डबलीहरूमा हातमा खड्ग बोकेर युद्ध मैदानमा उत्रेका सेनापति र सेनामेनाहरू नाच्दै दिनभर दोलखा बजार घुमिरहे । युद्धमा उत्रिएका सेनापति र उसका सहयोगीझै क्रुद्ध शैलीमा दानवहरू खोजेर बध गर्दै अघि बढेको दृश्य रोमाञ्चक थियो । पालोअनुसार युवादेखि वृद्धसम्म नाच्ने खड्गजात्रा प्राचीन समयमा दोलखा बजार देवदेवीको बास भएको स्थलको परिकल्पना गरिएको छ ।

किंवदन्तीअनुसार हजारौँ देवता र मन्दिर भएको दोलखा सहरमा दानवले देवदेवी तथा मनुष्यलाई चरम दुःख दिने कार्य दिनप्रतिदिन बढ्दै गएपछि युद्धद्वारा दावनलाई परास्त गरिएको भनाइ छ । युद्ध आरम्भ गर्नुपूर्व जनैपूर्णेको अघिल्लो दिन देवदेवीहरू बाजागाजासहित पूजा सामग्री लिएर युद्धको सहायताका लागि कालिञ्चोक भगवती पुग्ने चलनलाई अहिले पनि निरन्तरता दिइएको दोलखा बजारका प्रवीण प्रधान बताउँछन् ।

कालिञ्चोक भगवतीले युद्धमा सघाउने आश्वासन पाएपछि देवदेवीले दोलखा सहरको राइतीमा जनैपूर्णेको दिन तीनधारा अगाडि यज्ञको सुरुवात गर्छन् । त्यही दिन गंगाको पूजा गर्नुका साथै राजकुलेश्वर पोखरीमा राक्षसको खोजी पनि गरिने परम्परा छ । उक्त पोखरीमा आधा राँगाको टाउको फालेर पौडन सक्नेले त्यसको खोजी गरेर बनाउने चलन छ । त्यस्तै दोलखा बजारबाट बाजागाजाका साथ कालिञ्चोकको दर्शन गर्न जाने गरिन्छ ।

यज्ञ सुरु भइरहेको ठाउँमा दानव आएर आक्रमण गरेर यज्ञ मण्डपलाई ध्वस्त पारिदिएपछि युद्धको सुरुवात भएको किंवदन्ती छ । दोलखा सहरको राजकुलेश्वर तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीले चामलको भातबाट चक्रेश्वर बलिराजाको मूर्ति बनाउँछन् । त्यो मूर्तिमा स्थानीय कुसुलेबाट विधिपूर्वक राँगाको बली दिइन्छ । जात्रालाई सुरु गर्न कालरात्रिको दिनमा दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा चार वटा राँगा बली पूजा गर्ने प्रचलन छ । भीमेश्वरमा राँगाहरू बली दिइनुको अर्थ महिषासुरको गणको बध गरेको मानिन्छ । यसलाई स्थानीय नेवारी भाषामा हामिल्ठी–तिमल्ठो भन्ने प्रचलन छ ।

सम्बन्धित खबरहरु