काठमाडौ । चलचित्र ‘जय भोले’ले दुई दिनमा एक करोड ४ लाख रुपैयाँको व्यापार गरेको छ । बडा दशैंको अबसरमा ३० असोज फुलपातीबाट देशव्यापी रुपमा जय भोले रिलिज भएको थियो । यसपालीको दशैं जय भोलेसँगै भन्ने नारा सहित रिलिज भएको जय भोलेको व्यापार दिन प्रतिदिन बढी रहेकाले बिजया दशमीको दिन अझै राम्रो हुने पनि निर्माता निर्देशक अशोक शर्माले बताए । उनले अगाडि थपे,‘निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएका छौं । यसले गर्दा हामी अझ बढी उत्साहित छौं र हामी दशैंमा पनि सिनेमा हलमा दर्शकबीच नै हुनेछौं ।’

निर्माता एवम् निर्देशक अशोक शर्मामा अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार गरेको छ । उनले व्यापार बारे भने,‘ दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । पहिलो दिन ४६ लाख ग्रस व्यापार गरेको जय भोलेको दोस्रो दिनको ग्रस व्यापार ५७ पुगेको छ र आज बिहानको शो देखि नै व्यापार अझै राम्रो देखिएको छ ।’

राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् । यो चलचित्र मुलुकका १२५ ओटा सिनेमा हलमा यतीबेला प्रदर्शन भईरहेको छ । यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरबीर पण्डितलगायतले मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खबरहरु