काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले भक्तपुर चाँगुनारायण नगरपालिका–७ स्थित मानव कल्याण समाजलाई व्यक्तिगत रुपमा रु २० हजार नगदसहित कम्मल प्रदान गर्नुभएको छ । दशैँका उपलक्ष्यमा वृद्धवृद्धा तथा बालबालिकालाई टीका लगाइदिँदै उहाँले सो सहयोग प्रदान गर्नुभएको छ ।

समाजले सडकका मानिसलाई गाँस, बास, कपासलगायत व्यवस्था गर्दै बालबालिका तथा वृद्धवृद्धाको जीवन जिउने थलोका रुपमा कार्य गर्दै आइरहेको छ । सो अवसरमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले भक्तपुरमा सडक मानिसको अन्त्य गराउने अभियानमा मानव कल्याण समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आफन्त, घरबारविहीन बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र असहायको जीवन सहाराका रुपमा स्थापित उक्त समाजले आगामी दिनमा भक्तपुरमा मात्र नभई देशभर सञ्जाल विस्तार गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । समाजमा ४५ जना वृद्धवद्धा रहेकामा अहिले २५ जना बसोबास गरिरहेका छन् । बाँकी २० जनालाई उनीहरुको आफन्तलाई जिम्मा लगाइएको समाजका अध्यक्ष सुमित्रा चौलागाईंले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु