तनहुँ । व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिनुभयो ।

विभिन्न जातजातिका धर्मगुरुहरुको मिलन गराई हिन्दू सनातन धर्मको संरक्षण र संवद्र्धनका लागि एक सूत्रमा बाँध्ने र एकता भएर अघि बढ्ने उद्देश्यले सो पर्वको आयोजना गरिएको हो । वेदअनुयायी प्रतिष्ठानले आयोजना गरेको सो पर्वमा सन्त, महन्त, धर्मगुरु, विद्वान एवम् ओमकार परिवारको उपस्थित रहको छ । पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले वेद, पूजा, रुद्री, चण्डी पाठ तथा धर्मगुरुबाट दैनिक धार्मिक प्रवचन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ । गत वर्ष पनि व्यासभूमिको प्रचारप्रसार गरी व्यासलाई विश्वमाझ चिनाउने उद्देश्यले कात्तिक १ देखि डेढ वर्षसम्म अठारमहीने अखण्ड कीर्तन लगाइएको थियो ।

सोमबार भएको महामिलन पर्वमा सहभागी धार्मिक अभियानकर्मीले देशमा प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रयास बढिरहेकाले त्यसको रक्षाका लागि सनातन हिन्दू धर्मावलम्वीहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । विश्व हिन्दू महासङ्घका अध्यक्ष सागर थापाले युवा पिँढीले धर्मको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने समय आएको बताउनुभयो । धार्मिक अभियानकर्मी अर्जुन रानाले समाजमा एकताबद्ध भएर बसेको धार्मिक सहिष्णुता खलबलाउने कार्य मौलाउँदै गएको प्रति इङ्गित गर्दै यसतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आउनुभएका चन्द्रबहादु पुन, अभिषेक जोशी, यामबहादुर आले, राम गुरुङ, सिद्धान्त थापालगायत धार्मिक अभियान्तले हिन्दू धर्ममाथिको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु