काठमाडौँ । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न आईजिपी सर्वेन्द्र खनालले पत्र गृह मन्त्रालयमा पठाएको हप्ता वितेको छ ।

तर कार्बाही गर्न गृह मन्त्री रामबहादुर थापा बादल डराएको बुझिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दशैँ बिदाको अघिल्लो दिन असोज २९ मा सेवाबाट निश्कासनको सिफारिशसहितको पत्र गृह पठाएपछि गृहले निर्णय लिन सकेको छैन । उनलाई सेवाबाट बर्खास्त गर्नेगरी नै कार्बाही गर्नुपर्ने सुझाव यसअघि गठन भएको छानविन समितिले गरेको थियो । छानविन समितिको सुझाव र निश्कर्ष मुताविकनै उनीहरुलाई सेवाबाट हटाउनका लागि आईजिपीले पत्र पठाए । तर उक्त पत्र गृहमा रोकियो ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा लामो समयसम्म एसपी बिष्टको बचाउ गर्दै आएका महानिरीक्षक खनालले आफूतिर औंला सोझिन थालेपछि बर्खास्त गर्न सिफारिस गरेका थिए तर खनालको सिफारिसलार्इ गृह मन्त्रालयले उल्टै फिर्ता पठाइदिएको छ । गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाले प्रहरी प्रधान कार्यालयबाट आएको सिफारिसअनुसार आवश्यक प्रक्रिया पूरा गरेर आइतबार नै पत्र फिर्ता गरेको हो ।

गृहका एक उच्च अधिकारीका अनुसार अब प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र इन्स्पेक्टर भट्टसँग गृहको निर्देशनअनुसार फेरी आवश्यक सोधपुछ गर्नेछ । दुवै प्रहरी अधिकारीलाई प्रहरी नियमावली–२०७१ को नियमक ११३ (क) अनुसार कारवाही थालिए पनि कारबाही हुनेमा आशंका जन्मिएको छ । प्रहरी महानिरीक्षक खनालको सिफारिस गृहले किन फिर्ता पठायो भन्ने विषय रहस्यमयी बनेको छ । यसले फाइल यता र उता गरेर प्रमाण नष्ट गर्नेहरूलार्इ संरक्षण गरी वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउने कार्यमा नै बाधा पुर्याउन खोजेको हो कि भन्ने शंका समेत उब्जिएको छ ।

सम्बन्धित खबरहरु