काठमाडौ । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी) लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशि रु दुई लाखसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आउनुभएका एक स्रष्टालाई ती सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उहाँका माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो । आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवम् लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ ।

दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पार्नुभयो ।

सम्मानित व्यक्तित्व डा शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताउनुभयो । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना हो भन्नुभयो ।

सम्बन्धित खबरहरु