काठमाडौ । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले लहरो तान्दा पहरो हल्लिने संकेत देखिएको छ । अनुसन्धानमा लापरबाही गरेको भन्दै बिहिबार सेवाबाट बर्खास्त गरिएका एसपी दिल्लीराज विष्टले निक्कै शनसनीपूर्ण अभिव्यक्ति दिएपछि गृह प्रशासन नै हल्लिएको छ ।

उनले आफू प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार अघि बढेको र सबै निर्देशन आइजिपी कै मानेको दाबी गरेका छन्। उनले भनेका छन् मैले सबै चिफ सापको निर्देशन मानेको हो । मेरो स्वविवेकीय निर्णय केही छैन । यदि गल्ती भएको भए म निलम्बन हुँदा आइजि सापको फेली के हुने ? उनले प्रश्न गरेका छन् । आइजिसापले पनि गृहमन्त्रीको निर्देशन मान्नुभएको होला । गृहमन्त्रीको पद चै के हुने ? उनले अझै अघि बढेर भने त्यहाँ गल्ती भएको छैन । यहाँ फसाउन खोजिएको छ । यो लहरोले सबै तानिनुपर्छ की म निर्दोष हुनुपर्छ ।

उनले सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएर निर्मला पन्तको घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका हुन्। ‘निर्मलाको शब दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो।’

माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टले बताए। उनका अनुसार घटनापछिको समयमा प्रदेश प्रहरी कार्यालयमा डिआइजी थिएनन् भने संघीय प्रहरी कार्यालयमा रहेका अधिकारीले ‘ध्यान पुर्याएर काम गर्न’ भनेका थिए।

‘चेन अफ कमाण्डको समेत कमी रह्यो, बारम्बार चिफ सरलाई फोन गर्न अप्ठेरो थियो’, विष्टले भने, ‘तर फोन गरेपछि उहाँले केही निर्देशन दिनुहुन्थ्यो। सचिवालयका सरहरुसँग कुराकानी भइरहेकै थियो।’ एसपी विष्टले आफुलाई नियतबस बर्खास्त गरिएको दाबी गर्दै घटनाको अनुसन्धानका लागि एक जना डिएसपीको नेतृत्वमा दुई इन्स्पेक्टरसहितको टोली पठाएकोमा आफू मात्र दोषी सावित हुनुले अचम्ममा परेको बताए। ‘मलाई कुनै सरोकार नभएका प्रश्न सोधिएको छ, आरोप लगाएका विषय समेत हावादारी छन्,’ उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका बेला घटनालाई अन्तै मोडिएको थियो।’

विष्टका अनुुसार निर्मला पन्तको बलात्कार र हत्याको घटना लगत्तै डिएसपी ज्ञानबहादुर सेट्ठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खडका र जगदिश भट्ट तथा सईहरु हरिसिंह धामी, बासुदेव अवस्थी, रामसिंह धामी र देवसिंह कुँवरसहितको टोली घटनास्थल पुगेको थियो। डिएसपीकै नेतृत्वमा गएको टोलीले लिएको घटनास्थल मुचुल्कामा शंका गर्ने आधार नभएकोले आफु चुपचाप अभियुक्तको खोजीमा जुटेको उनले दाबी गरे। ‘शब उठाउन मेयर चाहियो भनियो र, शब नगरपालिकामा लगियो। त्यसपछि मैले माथिल्लो तहमा जानकारी गराउँदै काम अघि बढाएको थिएँ’, एसपी विष्टले भने।

विष्टले घटनाको तेस्रो दिन केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएर गएको टोलीले थप अनुसन्धान गरेको बताए। ‘हामीले शंकास्पद व्यक्तिहरूलाई ल्याएर सोधपुछ गरिरहेका थियौं, उनीहरु बिरुद्ध प्रमाण जुटाउने काम भएको थियो’, विष्टको दाबी छ, ‘ब्यूरोले समेत विभिन्न कोणबाट अनुसन्धान गरेपछि दिलिपसिंह विष्ट दोषी रहेको आधार फेला परेका हुन्।’

‘कसैलाई बचाएको छैन’
एसपी विष्टले जघन्य अपराधको मुद्दा २० औं वर्षपछि पनि ब्युँतिने बताउँदै आफूले कसैलाई बचाउन खोजेको आरोप मिथ्या भएको दाबी गरे। प्रहरी सेवाबाट बर्खास्त गरेको पत्र हात परेपछि उनले आफुलाई कसैलाई बचाउन कुनै दबाब नभएको दाबी गरेका हुन्। सरकारी सेवामा योग्य हुने र प्रहरीबाट अवकाशपछि पाउने सबै सेवा सुविधा प्राप्त हुनेगरी बर्खास्त गरिएका एसपी विष्टले अध्ययन र छलफलपछि अगामी कदम उठाउने बताए। ‘सबै कुराको अध्ययनपछि आवश्यक पहल थाल्नेछु’, विष्टले भने, ‘अहिले हल्ला गरेर केही हुँदैन, समय आएपछि केही विषय सार्वजनिक गर्नेछु।’

थप कारबाहीको तयारी
निर्मला पन्तको शब साउन ११ मा फेला परेपछिका घटनाक्रममा जिल्ला प्रहरीको नेतृत्वमा रहेका एसपी विष्ट र उनी मातहतका प्रहरी इकाईको कारबाहीमा लापरबाही देखिएको गृह मन्त्रालय र प्रहरीले गठन गरेका अनुसन्धान समितिले औंल्याएका छन्। साउन १० गते निर्मलाको खोजी गर्न जान नमान्ने वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिशप्रसाद भट्ट र बालिकाको शब फेला परेपछि घटनास्थलमा विष्ट नपुग्नुलाई अनुसन्धान अधिकारीहरुले शंकास्पद मानेका छन्।

घटनाको तीन महिना पूरा भइसक्दा समेत मुख्य अभियुक्त पक्राउ नपर्नुले दबाबमा रहेको सरकारले निष्कासनमा परेका विष्टमाथि समेत थप कारबाहीको तयारी थालेको छ। सशस्त्र द्वन्द्वको समयदेखि तत्कालीन विद्रोही नेकपा माओवादीका उच्च तहका नेताहरुसँग निकट सम्बन्ध रहेका विष्टलाई कारबाही नगर्न दबाब पनि कायमै छ। यो खबर नेपाल खबरमा दिपक खरेलले लेखेका छन् ।

सम्बन्धित खबरहरु