काठमाडौं । घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ले आफ्नै चलचित्र ‘छक्का पञ्जा’को कमाईको रेकर्ड ब्रेक गरेको छ । यस चलचित्रबाट निकै नै अपेक्षा गरिएको थियो । चलचित्र प्रदर्शनमा आएको झन्डै तीन साता पुग्दासमेत चलचित्रले उस्तै व्यापार गरिरहेको छ । यो युनिटले निर्माण गरेका चलचित्रहरुले चलचित्रको बजारमा सनसनी नै मच्चाउने गरेको छ । यससँगै फुलपातीबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ प्रदर्शनमा आएसँगै यस चलचित्रको व्यापार सुस्ताउने धेरैको अनुमान थियो । तर यो चलचित्रलाई ‘जय भोले’ले त्यति असर गरेन । ‘जय भोले’ले भने सोचे अनुरुपको व्यापार गर्न सकेको छैन ।

‘छक्का पन्जा ३’ ले रिलिज भएको १८ दिनमा नेपाली चलचित्र इतिहासकै सबैभन्दा बढी व्यापार गरेको छ । चलचित्रले अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र ९ करोडको कलेक्सन गर्न सफल भएको छ । भने काठमाडौं उपत्यका बाहिर झण्डै ८ करोड माथि भएको बुझिएको छ । यी दुवै व्यापारलाई हेर्दा ११ गते सम्ममा चलचित्रले करिब १७ करोडको व्यापार गर्न सफल भएको देखिन्छ । डीसी नेपालसँग कुरा गर्दै यस अघिको चलचित्र ‘छक्का पञ्जा’ले १ सय २८ दिनमा बनाएको रेकर्ड ‘छक्का पञ्जा ३’ले १८ दिनमा नै तोडेको दिपकराज गिरीले बताएका छन् ।

यस अघिका चलचित्रले कुनै सन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथा वस्तुलाई दर्शकले निकै रुचाएका छन् । दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाहलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यससँगै ‘छक्का पञ्जा ३’को पहिलो नम्बरमा बोलको गीतको भिडियो २ करोड भन्दा बढीले हेरेका छन् ।

सम्बन्धित खबरहरु