काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा हुँदा पनि पार्टीको एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन । नेकपा को सचिवालय बैठक फाट्टफुट्ट बसे पनि स्थायी कमिटी बैठक तीन महिना यता बस्न नसक्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो । जनवर्गी सङ्गठनहरूको एकता तथा नेताहरू जिम्मवारीले पार्टी एकताले पूर्णाता पाउने कतिपय नेताहरू भनाइ छ । कार्य दलले गृहकार्य पूरा नहुँदा सोमबार र मङ्गलबार बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता र कार्यदलको तयारीको अभावमा स्थायी कमिटीको यो बैठक स्थगित भएको जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको छ ।


नेकपा नेतृत्वकै करिब दुइतिहाई बहुमतको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कतिपय गुनासोलाई नेताहरूले स्थायी कमिटीको बैठकसँग जोडेर हेर्न थालेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे समयमा स्थानीय कमिटीको बैठक बस्न नसक्दा समस्या समाधान गर्न कठिन भएको बताउनुहुन्छ । कात्तिक ४ र ५ गते सचिवालय बैठक बसेको थियो । पछिल्लो बैठक ८ गते बसेर प्रदेश सदस्यहरुको टुङ्गो र जिम्मेवारीको गृहकार्य गर्न पार्टी महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले त्यसको गृहकाय गरिरहेको छ । सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नुको पछाडि पार्टीभित्र गम्भीर छलफल हुन नसक्नु र सरकारले रचनात्मक सुझाव पाउन नसक्नु हो भन्ने तर्क नेताहरुको देखिएको छ । सरकारको कामकाज प्रभावकारी बनाउन पनि सघन बैठकको खाँचो नेताहरुले औँल्याउनुभएको छ । बैठक बस्न नसक्नुको ठोस कारण सचिवालयबाट नदिइए पनि तयारी नपुगेको विषयलाई आधार बनाइएको छ ।

गत जेठ ३ गते पार्टी एकता घोषणा भएयता असार २ र साउन २४ गते दुई पटक स्थायी कमिटी बैठक बसेको थियो । सोपछि कात्तिक १२ र १३ गतेका लागि अर्को बैठक आह्वान गरिएको थियो । तर अकस्मात बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि स्थायी कमिटी सदस्यहरूको गुनासोसहितको टिप्पणी आएको छ । सरकारको कामकाज प्रभावकारी हुन नसकेको जनगुनासो बढिरहेका बेला स्थायी कमिटी बैठक बसेर त्यसबारे समीक्षा गर्ने र सरकारलाई सुझाव दिनुपर्ने राय नेताहरूको छ । पार्टी एकतापछि पार्टी संरचनालाई लोकतान्त्रिक र जीवन्त बनाउन स्थायी कमिटि लगायत बैठकको आवश्यकता रहे पनि बैठक बस्न नसक्दा पार्टी र सरकारको कामकाज समीक्षा हुन नसकको नेताहरूको भनाइ छ ।

४५ सदस्यीय स्थायी कमिटी बैठकका धेरै कार्यसूची छन् । बैठक बसेर क्रमशः समस्या समाधान गर्दै जानु आवश्यक रहेको नेताहरूको भनाइ छ । स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टी एकताको काम नहुनुको पछाडि बैठक नबस्नु रहेको बताउनुभयो । पार्टीका दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले दुई अध्यक्षको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आउनुभएको छ । पार्टीका निर्णयहरू सामूहिकरूपमा गर्नुपर्ने माग उहाँहरूको छ । दुई अध्यक्षको निर्णयको विरुद्धमा वरिष्ठ नेता नेपालले फरक मत राख्दै आउनुभएको छ । त्यस्तै, अर्का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो वरियताको विषयप्रति असन्तुष्टि राख्दै आउनुभएको छ । उहाँले स्थायी कमिटी बैठकमा असन्तुष्टि राख्ने बताउँदै आउनुभएको छ ।

स्थायी कमिटी सदस्य पाण्डेले बैठक नबसाउनु थप समस्या बल्झाउनु भन्नुहुन्छ । स्थायी कमिटी बैठक बसाउन केन्द्रीय सचिवालयले नै नचाहेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, “बैठक बसाउनु समस्याको समाधानको पहल लिनु हो ।” छिटो बैठक बसाएर सरकार र पार्टी एकताको प्रक्रियालाई प्रभावकारी बनाउन उहाँले नेतृत्वलाई सुझाव दिनुभयो । स्थायी कमिटी सदस्य भुसालले पार्टी एकताले पूर्णता पाउन नसक्नुमा बैठकहरू बस्न नसक्नु हो भन्नुभयो । भ्रातृ संस्थाहरूको एकीकरण तथा नेताहरू जिम्मेवारीले पार्टी एकताले पूर्णता पाउने उहाँको विश्वास छ ।

स्थायी कमिटी गठन भए पनि नेताहरुले जिम्मेवारी नपाउनु समस्या भएकोे बताउँदै भुसालले भन्नुभयो, “सरकारको कामकाजको समीक्षा र पार्टी एकता तथा जिम्मेवारीको बाँडफाँटको काम बैठकबाटै सुल्झिन्छ ।” बैठकका लागि शीर्ष नेतृत्वकै इच्छाशक्ति नदेखिएको उहाँले गुनासो गर्नुभयो ।
स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल स्थायी कमिटी बैठक बस्नुपर्छ भन्ने सबैको चाहना हो, तर प्राविधिक विषय मिल्न नसक्दा बैठक बस्न नसकेको बताउनुहुन्छ । पार्टी एकता पछि गर्नैपर्ने केही काम बाँकी रहेकाले त्यसलाई बैठकबाटै टुङ्गो लगाउने उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको बैठक बस्ने प्रक्रिया नियमित प्रक्रिया भएकाले कसैले नचाहेर बैठक बसेन भन्नु गलत बताउनुहुन्छ । वातावरण बनेपछि बैठक स्वतः बस्ने बताउँदै उहाँले सरकारको समीक्षा तथा सुझावको सदैव स्वागत गरिने बताउनुभयो । ‘सरकारले आफ्नै गतिमा काम गरिरहेको छ, बैठकमा समीक्षा गर्न त जहिले पनि अवसर आइहाल्छ,’ उहाँले भन्नुभयो, “बैठक बस्छ, उपयुक्त समयमा बस्छ, बैठकलाई लिएर अनावश्यक टिकाटिप्पणी गर्नु जरुरी छैन ।”पार्टी एकता भएपछि पार्टीका केही महत्वपूर्ण कामहरू गर्न बाँकी रहेको भन्दै नेताहरुले रचनात्मक सुझावका लागि बैठक नै आवश्यक रहेको बताउँदै आउनुभएको छ । केन्द्रीय सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च लगायतका उपल्ला कमिटीहरु नेकपाको अझै गठन हुन सकेको छैन । त्यस्तै, पार्टीका जनवर्गीय सङ्गठन, कर्मचारी तथा अन्य सङ्गठनहरुको एकता प्रक्रिया अझै अलपत्र रहेको कतिपय नेताहरूको भनाइ छ ।

प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष तथा सचिवको जिम्मेवारी तोक्ने काम यसअघिको बैठकले गरे पनि सदस्यहरुको जिम्मेवारीको टुङ्गो लगाउन दुई सदस्यीय कार्यदल गठन गरिएको छ । कात्तिक ८ गते बसेको सचिवालय बैठकले महासचिव पौडेल र सचिवालय तथा गृहमन्त्री थापा रहेको कार्यदल गठन गरेको थियो र सो कार्यदलले गृहकार्य गरिरहेको जनाएको छ । नेकपाले ‘एक व्यक्ति एक पद’को नीति लिएर अगाडि बढ्ने निर्णय गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुनुपर्ने नेताहरुको सुझाव रहँदैआएको छ । यता नौ सदस्यीय केन्द्रीय सचिवालयमा एकजना पनि महिला सदस्य नपरेको भन्दै महिला नेत्रीहरुले गुनासो गर्दै आउनुभएको छ ।

सम्बन्धित खबरहरु