मोरङ्ग । उर्लाबारीमा धार्मिक गतिबिधिहरु बढिरहेका छन् । किराती समूदायको माङहिम होस् वा मुश्लिम समूदायको मस्जिद, बौद्ध धर्मालम्बीहरुको गुम्बा होस् वा हिन्दुको मन्दिर सबैले आ–आफ्नो धार्मिक गतिबिधि गरिरहेका छन् । यी सबैले एकअर्कोको धर्मको सम्मान पनि गरिहेका छन् । उर्लाबारीमा धार्मिक सद्भाव र एकता मजबुद देखिएको छ । यसैक्रममा उर्लाबारी–६ को सिद्देश्वर शिवबाबा धाम उर्लाबारीले आगामी मंसिर १० गतेदेखि शिवमहापुराणको आयोजना गर्ने भएको छ । २०७३ सालमा स्थापना भएको उक्त धामले उर्लाबारीलाई धार्मिक शहरको रुपमा चिनाउने प्रयास गरिरहेको छ ।

उर्लाबारीमा धामको अवधारणा ल्याउँदै सिद्देश्वरले धर्मालम्बीहरुको ध्यान तानेको छ । पूर्वमै परिचित धाम बनाउने अवधारणाका साथ सुरु गरिएको उक्त धाममा प्रत्येक चाड पर्व होस् वा कुनै अवसर धार्मिक गतिबिधि गरिरहेको हुन्छ । स्थापनाको छोटो समयमा उर्लाबारीकै स्थापित धामका रुपमा सिद्देश्वर परिचित छ । संचारकर्मी दुर्गाप्रसाद खतिवडाको नेतृत्वमा रहेको उक्त धाममा पछिल्लो समय हिन्दु धर्मालम्बीहको चासो बढेको पाइन्छ ।

मंसिर १० गतेदेखि २० गतेसम्म हुने शिव महापुराणको लक्ष्य पनि सिद्देश्वरलाई धामको रुपमा ब्यवस्थित बनाउने नै हो । उक्त पुराणको तयारी सुरु गरिएको छ । स्थानीय सामाजिक ब्यक्तित्व जंगबहादुर कार्कीको संयोजकत्वमा शिव महापुराण मूल आयोजक समिति गठन गरिएको छ । उक्त समितिले विभिन्न उपसमिति पनि बनाइसकेको र भब्य रुपमा पुराण सम्पन्न गर्ने लक्ष्य लिएको प्रचारर समितिका संयोजक गणेश दाहालले जानकारी दिए । प्रचार समितिको सह–संयोजकमा पवन चौधरी रहेका छन् ।

सम्बन्धित खबरहरु