झापा । झापामा व्यावसायिक रूपमा लगाइएको खेती दाङसम्म पु¥याएर उत्पादन गरिन्छ । किसानको यो घतलाग्दो व्यवसायमा आम्दानीसमेत यस्तै अचम्म गरी हुने गरेको छ । झापाका महिला किसानले मौरीपालन खेती गर्दाको कथा यस्तै आश्चर्यजनक रहेको छ । झापाको शिवसतासी नगरपालिका ११ की किसान देवी दाहाल डेढसय घार मौरी लिएर पश्चिम दाङ जिल्ला पुग्नुभएको छ । उहाँले मौरीका घार दाङका तोरिबारीमा राख्नुभएको छ । उहाँ मात्र हैन यो नगरपालिकामा मौरीपालन गर्ने १५० भन्दा बढी महिला आफ्ना मौरीका घार लिएर दाङको घोराही पुगेका छन् । दाङमा अहिले तोरी फुल्ने समय भएकाले मौरी चराउन त्यहाँ पु¥याउनु परेको हो । झापाबाट मात्र हैन । पूर्व देखि पश्चिमसम्मका नेपालका भूभागवाट मौरी चराउन त्यहाँ पुर्याईएको छ ।

चरन क्षेत्र नभएका जिल्लाका मौरीले भनेजस्तो मह उत्पादन गर्न सक्दैनन् । मौरीले तोरीको फूल सबैभन्दा बढी मन पराउँछन् । यसबाट मौरीलाई उचित आहार मिल्ने भएकाले चरनका लागि दाङ पु¥याउनुपरेको मौरी पालन खेती गरिहनुभएकी किसान देवी दाहालले बताउनुभयो । झापामा मौरीपालन खेती गर्ने किसानले दाङको घोराहीमा एकदेखि डेढ महिनासम्म चरनका लागि राख्ने गरिएका छन् । यसरी चरन क्षेत्रमा लैजाँदासमेत स्थानीय सामुदायिक वन, विभिन्न क्लब, घरवालादेखि तोरीको खेती गर्नेलाई समेत रकम बुझाउनु पर्दछ । पर्यावरण जोगाउन मद्दत गर्ने मौरी चरमा लैजादा बालीमा परागसेचन सहयोग भएकाले बाली समेत राम्रो हुने गरेको छ तर पनि व्यवसायीलाई जथाभावी रकम असुल्ने क्रम बढेको प्रति किसानको गुनासो छ ।

यस्तै गाडीमा घारसहित मौरी लाँदा ट्राफिक प्रहरीलेसमेत अत्यन्तै धेरै दुःख दिने गरेको गुनासो कृषको छ । त्यसपछि फर्कंदा चितवनको लोथरमा पुसको दोस्रो सातासम्म चराउने गरिन्छ । यस्तै सुनसरीको प्रकाशपुरमा सूर्यमुखी फुल्ने समयमा केही दिन राखिन्छ । वनस्पति फुल्ने मौसममा कोसीटप्पु, मधुवनमा वैशाखसम्म चरनमा राखिन्छ । वैशाखपछि झापामा लिची, फापर फुल्ने मौसममा मात्र ल्याउने गरिएको छ । पूर्वमा मौरीका लागि उचित चरन क्षेत्र नभएका कारण पश्चिमसम्म पुग्नु परेको मौरीपालन खेती गरिरहेका किसानको अनुभव छ ।

मौरीपालक सबै महिला
जिल्लाको शिवसतासी नगरपालिका ११ स्थित श्री सतासी महिला मौरीपालन सहकारी संस्थामा आबद्ध १७४ जना महिला व्यावसायिक मौरीपालनमा छन् । घरभित्र चुलोचौको गर्ने धेरै लेखपढसमेत नभएका महिलाले समेत राम्रो आम्दानी गरेर घर चलाउन सक्छन् भन्ने उदाहरण बनेका छन् । मौरीपालन व्यवसायमा लागेका सम्पूर्ण महिला न्यून आय, भएका सामान्य लेखपढ भएका रहेका छन् । मौरीपालक महिलाले छुट्टै सहकारी नै स्थापना गरेर व्यवसाय व्यवस्थित गरिरहेका छन् । किसानबाट सहकारीमा वार्षिक २५ हजार किलो मह उत्पादन गर्दै आएका छन् । आगामी वर्ष यो मात्र ५० हजार केजी पु¥याउने लक्ष्य रहेको सहकारीकी अध्यक्ष केशमाया थोप्राले बताउनुभयो ।

काम केही थिएन दैनिक छोराछोरी बढेसँगै खर्चसमेत बढेर जान थालेको थियो । आम्दानी नभएपछि पैसाका कारण श्रीमान् श्रीमती बीचमा दैनिक झगडासमेत हुन थाल्यो । झण्डैझण्डै छोडपत्र गर्ने अवस्थासम्म पुगियो । सोही सहकारीकी व्यवस्थापकसमेत रहनु भएकी देवी दाहालको आफ्नो विगत स्मरण गर्नुभयो । समूहमा आबद्ध भएर बचत गर्दै जाँँदा महिलाले सामूहिक रूपमा नै तालिम लिएर मौरीपालन थालेको उहाँले बताउनुभयो । उहाँले गत वर्ष डेढ सय घारबाट एक वर्षमा तीन हजार ६५१ किलो मह उत्पादन भएको बताउनुभयो । यसबाट वार्षिक १६ लाख ६४ हजारसम्म आम्दानी भएको थियो । यो वर्ष घार बढाएर २५ लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

सोही सहकारीकी उपाध्यक्ष धनमाया थापाको अनुभव पनि उस्तै छ । उहाँले मौरीपालन गर्ने सोच बनाउँदा घर तथा छिमेकले कीरा पालेर आम्दानी गर्ने भन्दै उडाएका थिए तर निरन्तर मौरीपालन गर्दा अहिले ८० घार मौरी पाल्न सफल भएको बताउनुभयो । मौरीपालनबाट गत वर्ष मात्र १९ सय केजी महबाट १३ लाख रुपियाँ आम्दानी भएको जानकारी दिनुभयो । उहाँहरूजस्तै राधा पाठक र फूलकुमारी चौधरीसमेतले मौरीपालनमा सफल हुनुहुन्छ । सबैले आफ्नै निजी तवरबाट मौरीपालन गरिए पनि सरकारले चरन क्षेत्रमा सहजता बनाउन तथा मौरीपालक किसानलाई प्राविधिक तालिम दिनुपर्नेमा जोड दिएका छन् ।

चितवनबाट पनि दाङ नै
मौरीपालक किसानले मौरी चराउनका लागि फूल खोज्दै चितवनबाट दाङ ल्याएका छन् । चितवनको मिलिजुली मौरीपालक कृषक समूहमा आबद्ध मौरीपालक किसानले मौरीका लागि फूल खोज्दै दाङको सतबरिया ल्याएका हुन् । चितवनमा मौरीका लागि मौसम उचित नभएको र फूलबारी नभएका कारण दाङमा ल्याएको मौरीपालक किसान बताउँछन् । दाङको लमही नगरपालिका ७ हस्नापुर, कमानपुर, उच्चा निम्बुलगायतको स्थानमा प्रशस्त तोरी बारी रहेकाले तोरीको रसबाट गुणस्तरीय मह उत्पादन हुने हुँदा आफूहरूले मौरी चराउन ल्याएको किसान डिल्ली आचार्यले जानकारी दिनुभयो । अहिले चितवनभन्दा मह उत्पादनको हिसाबले दाङ राम्रो छ, तोरीको फूलबाट राम्रो मह उत्पादन हुन्छ, आचार्यले भन्नुभयो । मौरीपालक कृषक समूहमा आबद्ध तीन जनाले कृषकले तीन सय घार मौरी चराउन तोरी बारी खोज्दै देउखुरीमा छन् ।

तोरीको फूलमा मौरीले मह बनाउनका लागि रसको मात्रा बढी हुने हुँदा पनि तोरीबारी मौरीपालक कृषकहरूको रोजाइमा पर्ने गर्दछ । स्थानीय कृषि सहकारीबाट मह काट्ने औजार लगायतको सहयोग पाएको बताउने मौरीपालक किसानले मौरी चराउन स्थानको अभाव भएको गुनासो गर्छन् । महिना महिनामा स्थान परिवर्तन गर्दै हिँड्नुपर्छ, मौरी घारसहित ढुवानी गर्नुपर्दा लागत बढी लाग्छ, मौरीपालक किसान कृष्ण पौडेलले भन्नुभयो । प्रतिघारबाट ६ केजीसम्म मह उत्पादन गरेको बताउने मौरीपालक किसानले प्रतिव्यक्ति वार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको बताए । कात्तिकभर दाङमा मौरी चराइसकेपछि चितवनमा चिउरी फुल्ने भएकाले चितवनमा लग्ने किसान गङ्गाप्रसाद सापकोटाले बताउनुभयो ।

सम्बन्धित खबरहरु