क्यामरुन । क्यामरूनको अङ्ग्रेजी भाषी बसोबास गर्ने क्षेत्रबाट ७९ विद्यार्थी अपहरित भएका छन्। उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन्। विद्रोहीले यसबारे अझै प्रतिक्रिया जनाइसकेको छैन। विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाईसमेत विद्यार्थीसँगै लगेको विद्यालय स्रोतले पुष्टि गरेको छ। उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ। क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो घटना सबैभन्दा ठूलो घटना हो।

क्यामरूनमा अधिकांश फ्रेन्च भाषी रहेका भएपनि उक्त क्षेत्रमा अङ्ग्रेजी भाषालाई मातृभाषाका रूपमा मानिदै आएको छ। क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो।

यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन्। निर्वाचनमा बियाले ७१।३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीहरूले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ। क्यामरूनमा दुई करोड २० लाख अङ्ग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भूभागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन्। विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो। सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अङ्ग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए। सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन। क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।

सम्बन्धित खबरहरु