काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले निर्वाचनको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौँ । घोषणापत्रमा उल्लेख भएका विषयहरू लागू नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौँ’, गौतमले भने, ‘घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्छु ।’

गौतमले सरकार गठन भएको ८ महिना मात्रै भएको बताउँदै यसका काम हर्न बाँकी रहेको सुनाए । ‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हासिल गर्न सक्यो कि सकेन रु भनेर अहिले भन्ने बेला होइन’, गौतमले अगाडि भने । उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । ‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्‍यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेट पनि त्यही अनुसार आउनुपर्छ’, गौतमको जिकिर थियो ।

वरिष्ठ नेता माधव नेपाल र तपाईँको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा नगरेको गुनासो छ, त्यही कुरा भनेको हो । अरू त्यस्तो केही पनि होइन ।’ उनले पटक पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रीय सदस्यहरू, स्थायी समिति सदस्यहरू र सचिवालय सदस्यहरूले पढ्नुपर्ने पनि दोहोर्याए ।

‘म फेरि दोहोर्याएर भन्छु, हामी सबैले अब घोषणापत्र पढ्नुपर्छ । प्रधानमन्त्री ओलीले त झनै दोहोर्याएर पढ्नुपर्‍यो’, गौतमले भने, ‘अध्यक्षदेखि पदाधिकारीले पनि दोहोर्याएर पढ्नुपर्‍यो ।’ आफू र प्रधानमन्त्री ओलीबिच सम्बन्ध राम्रै रहेको पनि उनले जिकिर गरे । त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्‍यो भनेर कहिल्यै पनि पार्टीमा माग नराखेको स्पष्ट पारे । ‘मलाई सांसद बनाउनुपर्‍यो भनेर माग छैन । मलाई दुई अध्यक्षले तपाईँ प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो’, उनले भने, ‘ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुन्न तर व्यवहारिकरुपमा आउनुपर्छ भन्नुभयो ।’

गौतमले पार्टीका केही केन्द्रीय सदस्यहरूले फेरि संसद्मा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेर समेत आरोप लगाएको स्मरण गराए । ‘मैले पदको लोभ देखाएँ भनेर पनि पार्टीका नेताहरूबाट कुरा आयो । म एक व्यक्ति हुँ । एउटा व्यक्ति जाने हो । अरू त के नै हो र रु’ गौतमले प्रश्न गरे । उनले आफूलाई पुनः संसद्मा ल्याउन पार्टीको सचिवालय बैठकले चुनाव लडाउने सर्वसम्मत निर्णय गरेको पनि दाबी गरे ।

‘अरू कुरा त उहाँहरूलाई सोध्दा थाहा हुन्छ । कतिसम्म गर्नुभएको हो भने निश्चित जित्ने निर्वाचन क्षेत्रमा तपाईँ जानुपर्छ भन्नुभएको हो । अनि निर्वाचित सदस्यले जिताउँछौँ र जनताले पनि जिताउँछौँ भन्नुभयो भने तपाईँ जानुपर्छ भनेर निर्णय भएको हो’, गौतमले भने, ‘यो फेरि सर्वसम्मत निर्णय भएको हो । सचिवालयमा सर्वसम्मति भएको हो । यसबारेमा कुनै विमति थिए । पछि विमति किन भयो मैले बुझ्न सकेको छैन ।’

जिम्मा दिए पार्टी मिलाउँछु

फरक प्रसङ्गमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सकेर देखाइदिने पनि उद्घोष गरे । ‘तीन महिनाभित्र एकीकरण गरेर सकिदिन्छु । त्यो पनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठुलो र प्रभावकारी हुन्छ’, गौतमले भने, ‘मैले कम्युनिस्ट आन्दोलनमा यसबारे विज्ञता हासिल गरेको छु । मैले निर्माण गरेका सङ्गठनहरू फलेको छ, फुलेको छ ।’ पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाइदिने उनको वचनबद्धता थियो । ‘गुटबन्दी अन्त्य गर्छु । पार्टीमा होस् या अन्यत्र । तर, पार्टीको सदस्यको नाताले सबै गर्छु भन्ने हैसियत मसँग छैन’, गौतमले प्रष्ट्याए ।

पार्टी एकतालाई तार्किक निष्कर्षमा पुयाउन अब सरकारले जिम्मेवारीपूर्वक आफ्नो कदम चाल्नुपर्ने पनि उनको धारणा छ । ‘म भएको भए जेठ अन्तिमसम्म एकता गरिदिन्थेँ । एकतामा तुषारापात हुने हो कि रु एकता टिक्ने कि नटिक्ने रु लोकप्रिय हुने कि नहुने ? भन्ने कुरा अहिलेको सरकारको क्रियाकलापसँग हाम्रो पार्टीको भविष्य जोडिएको छ । सरकारले राम्रो काम गर्‍यो भने हाम्रो पार्टीको एकता पनि सुदृढ हुन्छ,’ गौतमले अगाडि भने । हिजो कुन गुटमा थिएँ वा कतातिर थिएँ भन्नुभन्दापनि अब योग्यता र क्षमताका आधारमा एकता गरेर जाने हो भने राम्रो हुने उनको भनाई छ ।

निर्वाचन लड्छु

उनले आफू निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ नभएको पनि जिकिर गरे । ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होइन । संसद्मा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो’, गौतमले भने, ‘तर, अब म कुनै नेतालाई मलाई सांसद बनाइदेऊ भन्न जान्न, घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’ अब सरकारले घोषणापत्रअनुसार काम गरेन भने आफू केही साथीहरूको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागिपर्ने पनि गौतमले जनाए ।

अन्तर्घात गरेर हराए

फरक प्रसङ्गमा उनले आफूलाई पार्टीका नेताहरूले अन्तर्घात गरेर चुनाव हराएको पनि आरोप लगाए । ‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अङ्कगणित थिएन । स्थानीय निर्वाचनमा काँग्रेसको २४ हजार मत थियो । नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार’, उनले भने, ‘यत्तिको फराकिलो मत हुँदाहुँदै पनि हार्न पुगेँ । ममाथि अन्तर्घात भएको कुरा प्रस्टै देखियो, त्यहाँ चलखेल भएको छ । हाम्रो मत बिग्रियो ।’ उक्त निर्वाचनमा आफू विरुद्ध उम्मेदवारी दिएर विजयी बनेका काँग्रेस नेता सञ्जय गौतमको नाम नलिई उनले भने, ‘त्यहाँ पप्पु कन्ट्रक्सनलाई पुलको जिम्मा दिन पहल गर्ने काँग्रेसका नेता माननीय बने । बर्दियाको त्यो क्षेत्रमा जे जति काम भएका छन्, त्यसमा सबै मेरो योगदान छ । यदि भएको छैन भने पनि त्यसमा मेरो दोष छ ।’ अन्नपूर्ण पोष्ट

सम्बन्धित खबरहरु