काठमाडौ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

उहाँले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाउनुभयो । विधानभन्दा सभापति माथि हुँदा पार्टी यस अवस्थामा आएको उहाँको भनाइ थियो । नेता सिंहले पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो । नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ । रासस

सम्बन्धित खबरहरु